खाेज्नुहाेस

लम्किचुहा अस्पताल सहमतिबाट सञ्चालनमा ल्याउन सांसद खनालको आग्रह

Image

धनगढी – कैलालीको लम्किचुहा अस्पताल सञ्चालनको अन्तिम चरणमा पुग्दा प्रदेश र स्थानीय तहबीचको विवादका कारण सेवा प्रभावित भएको भन्दै कैलाली–२ का प्रतिनिधिसभा सदस्य केपी खनालले आपत्ति जनाएका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र लम्किचुहा नगरपालिकाका नगरप्रमुख सुशीला शाही बीच देखिएको विवादले अस्पतालमा कहिले आन्दोलन त कहिले तालाबन्दीका गतिविधि भएको भन्दै उनले विज्ञप्ति जारी गरी ध्यानाकर्षण गराएका हुन् ।

navjiwan hospital

सांसद खनालले उक्त अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विवाद समाधानका लागि दुवै पक्षसँग छुट्टाछुट्टै भेटवार्ता गरेको बताएका छन् । आपसी सहमति र समझदारीमार्फत अस्पताललाई यथाशीघ्र सञ्चालनमा ल्याउन आग्रह गर्दै आवश्यक समन्वय र सहयोगका लागि आफू प्रतिबद्ध रहेको उनको भनाइ छ ।

attariya hospital

उनले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा हुने राजनीतिक खिचातानीका कारण सार्वजनिक संस्था कमजोर बन्ने र नागरिक प्रत्यक्ष रूपमा प्रभावित हुने उल्लेख गर्दै प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।

अस्पताल सञ्चालनलाई प्राथमिकतामा राख्दै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन दुवै पक्षलाई सहमति, सहकार्य र समन्वयमार्फत समाधान खोज्न उनले विज्ञप्तिमार्फत आग्रह गरेका छन् । साथै, संघीय सरकारले नीतिगत तथा कानुनी रूपमा गर्नुपर्ने सहयोगका लागि आफू तयार रहेको जनाउँदै खनालले सर्वपक्षीय सहमति र सहकार्यबाट विवाद समाधान गरी अस्पताललाई छिट्टै सञ्चालनमा ल्याउन राजनीतिक दल, नागरिक समाज र सञ्चार क्षेत्रलाई समेत आह्वान गरेका छन् ।