टीकापुर – कैलालीको टीकापुरका सरकारी कार्यालयहरु इलाका प्रशासन कार्यालय, मालपोत, नापीलगायत कार्यालय वरिपरिका व्यापारीले उपभोक्ताबाट महँगो शुल्क असुली रहेको पाइएको छ । टीकापुर नगरपालिका सहित बजार अनुगमन टोली त्यहाँ पुग्दा सरकारी कार्यालय वरिपरिका पसलमा फोटोकपी र पिउने पानीमा दोब्बर रकम लिएको पाइएको छ ।
प्रतिपेज पाँच लिनुपर्नेमा प्रतिफोटोकपी १० लिने गरिएकोे छ भने पिउने पानी प्रतिबोत्तल २० लिनुपर्ने भए पनि २५ देखि ३० सम्म लिने गरेको भेटिएको हो ।
टीकापुरका भेषराज नायक फोटोकपी गर्दा महँगो शुल्क तिर्नुपरेको बताउछन् । ‘फोटोकपी गर्दा १० लिन्छन्, यो साह्रै महँगो भयो’, उनले भने, ‘‘मूल्यमा एकरुपता हुनुपर्छ । यहाँ मानिसको बाध्यता हुन्छ ।’

लेखापढी व्यवसायी धनबहादुर बुढा पनि महँगो शुल्क तिरेर फोटोकपी गरिरहेका बताउँछन् । ‘यहाँ आउने उपभोक्तालाई बाध्यता छ, गर्ने भए गर, नभए गर्दैनौँ भन्छन्’, उनले भने, ‘‘ग्राहकलाई टाढा जानुभन्दा यही गर्ने गरेका छन् ।’

सेवाग्राही धनबहादुर बोहराले पानी ३० रुपैया बोत्तल किनेर खाँए । उनलाई मूल्य कम छ भन्ने थाहा भए पनि ठगिरहेको बताउँछन् । उनी जस्तै अन्य नागरिक पतिराम चौधरी र शान्तराज शर्मा पानी र फोटोकपीमा यसैगरी ठगिएका छन् ।
व्यापारी सञ्जय चौधरीले फोटोकपी गरेको रु १० रुपैया लिने गरेका छन्। सबै ब्यापारीले रु १० लिन भनेपछि उनले १० रुपैयाँ लिने गरेका बताए । अर्का व्यापारी नृप ठकुल्ला भने पाँच रुपैयामै फोटोकपी सेवा दिने गरेको बताउँछन् ।
टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले तोकिएको मूल्यभन्दा बढी नलिन व्यापारीलाई आग्रह गर्दै, धेरै लिएको भेटिए कानुन बमोजिम कारबाही हुने बताए ।
यसका साथै पालिकाले अनुगमनका क्रममा टीकापुरका केक तथा बेकरी पसलमा म्याद नाघेका खानेकुरा प्रयोग भएको भेटाएको छ । केक बनाउँदा प्रयोग हुने म्याद नाघेका, बिग्रिएका सामग्रीको पालिकाले पहिलो पटक बरामद गरेको छ ।
त्यस्तै टीकापुरमा सञ्चालित फार्मेसी तथा क्लिनिक, विशेषज्ञ सेवा, डेन्टल सेवाको अनुगमनसमेत गरिरहेको छ । अनुगमनका क्रममा मेडिकल केही नवीकरण नभएका, विशेषज्ञ सेवाका लागि अनुमति नलिएका, पटकपटकको निर्देशन कार्यान्वयन नगरेको पाइएकाले ७ दिनको समय दिइएको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताए ।



















