खाेज्नुहाेस

सुदूरपश्चिममा २ वटा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालन

Image

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशका दुई वटा पालिकाका एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएका छन् । क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत एसियाली विकास बैंक (एडीबी) को सहयोगमा कञ्चनपुर र कैलालीमा गरी तीन पालिकामा फोहरमैला व्यवस्थापन केन्द्रको काम अघि बढेको थियो । कैलालीको अत्तरीया र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आइसकेका छन् ।

सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका प्रमुख तुलसीराम खर्वुजाले कैलालीको धनगढी उप महानगरपालिकामा रहेको फोहोमैला व्यवस्थापन केन्द्र शीघ्र सञ्चालनमा आउने बताए । तोकिएको समयमै निर्माण सम्पन्न भए पनि धनगढी उप महानगरपालिका ७ पटेलामा बनिरहेको फोहरमैला व्यवस्थापन केन्द्रको निर्माण निर्माण पक्षले समयमै सम्पन्न गरेपनि सञ्चालनमा आउन सकेको छैन् । थप गरेर एक अर्ब नौ करोड रुपैयाँ लगात अनुमान रहेको उक्त व्यवस्थापन केन्द्रको ‘भिओ’ (भेरियसन अर्डर) प्रक्रियामा रहेकाले सञ्चालनमा ढिलाइ हुन गएको हो ।

attariya hospital
navjiwan hospital

‘भिओको लागि माथिल्लो निकायमा पेस गरेका छौँ’ सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका प्रमुख खर्वुजाले भने, ‘फोहरमैला व्यवस्थापनका लागि आवश्यक सवारीसाधन र ‘स्टिमेट’मा नभएको विषयको निर्माणमा पालिकाले माग गरेपछि ‘भेरियसन अर्डर’ अघि बढाइएको हो ।’

चीनको सिचुवान प्रोभिन्स जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्सले ठेक्का पाएर निर्माणको काम तोकिएकै अवधीमा सकेको छ । ‘भिओ’का कारण निर्माण पक्षले अहिले काम गर्न पाएको छैन । सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका अनुसार कैलालीको अत्तरियामा करिब १० महिना र शुक्लाफाँटा नगरपालिकामा गत भदौ महिनादेखि फोहरमैलला व्यवस्थापन केन्द्र सञ्चालनमा आइसकेका छन् ।

सुदूरपश्चिममा एडिबीले चार वटा पालिकामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि छनौट गरेको भएपनि कञ्चनपुरको भीमदत्त नगरपालिकाले त्यसका लागि जग्गा उपलब्ध गराउन सकेन । धनगढीमा २२ हेक्टर, शुक्लाफाँटामा पाँच बिघा र अत्तरियामा पाँच हेक्टर क्षेत्रफलमा फोहरमैला व्यवस्थापन केन्द्र बनेका छन् ।

सञ्चालनमा आएका फोहरमैला व्यवस्थापन केन्द्रमा पुनः प्रयोग हुने, कुहिने र प्रयोगविहीन (नकुहिने न बिक्री हुने) गरेर तीन तरिकाले फोहर छुट्टयाएर व्यवस्थापन गरिँदै छ ।