धनगढी – लम्की चुहा अस्पतालको लागि सुदूरपश्चिम प्रदेश सरकारले खटाएका कर्मचारीलाई लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले काममा अवरोध गरेकी छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले लम्कीचुहा अस्पतालका लागि निमित्त मेडिकल सुपरिटेन्डेन्टमा आठौँ तहका मेडिकल अफिसर डा. कमलेश प्रसाद यादव र छैटौँ तहका लेखा अधिकृत गणेश विष्टलाई खटाएको थियो ।
वैशाख १५ गते सामाजिक विकास मन्त्रालय (प्रदेश सचिवस्तर) को निर्णयबाट यादव र सोही दिन आर्थिक मामिला मन्त्रालयले विष्टलाई कामकाज गर्न खटाउने निर्णय गरेको थियो ।

सरकारले खटाएर सोमबार अस्पतालमा पुगेका लेखा अधिकृत गणेश विष्ट र प्रशासन ,प्राविधिक दुवै हेर्ने गरी पुगेका जनस्वास्थ्य निरीक्षक लक्ष्मी श्रेष्ठलाई नगरप्रहरीले तत्काल त्यहाँबाट हट्न आग्रह गरे ।
मेयरको निर्देशनमा भन्दै नगरप्रहरीले त्यहाँ काम गरिरहेका कर्मचारीलाई दुई पटकसम्म त्यहाँ नबस्न भने । त्यतिबेलासम्म मेसु अस्पताल पुगिसकेका थिएनन् ।

दुई पटकसम्म नगरप्रहरी र त्यसपछि अर्का एक जनालाई सन्देश पठाउँदा पनि दुई कर्मचारी मेयरको कार्यकक्षमा नगएपछि स्वयम् मेयर उपस्थित भएकी थिइन् ।
‘यहाँ नबस्नुहोस्, नगर प्रमुखज्यूले बोलाउनु भएको छ भनेर दुई पटकसम्म नगरप्रहरी आउनुभएको थियो,’ एक कर्मचारीले भने, ‘मेसु आइपुग्नु भएको थिएन । हामीले उहाँ आएपछि आउँला भन्यौँ । त्यसपछि फेरि एकजनालाई बोलाउन पठाउनु भयो । त्यसपछि पनि हामी नगएपछि मेयरसाव आफैँ आउनुभयो ।’
प्रदेशबाट खटिएका कर्मचारी भएकै स्थानमा पुगेर मेयर शाहीले तत्काल यहाँबाट बाहिरिन आग्रह गरिन् । बरु उनले आफ्नो कार्यकक्षमा आउन आह्वान गरिन् ।
‘यो नगर अस्पताल हो । यसको अध्यक्ष म हुँ,’ उनले प्रदेशबाट खटिएर आएका कर्मचारीलाई भनिन्, ‘तपाईंहरूले हामीसँग समन्वय गर्नुपर्छ । आउनुहोस्, मेरो कार्यकक्षमा बसौँ, कुरा गरौँ ।’
निमित्त मेडिकल सुपरिटेन्डेन्ट नपुगेको हुँदा मेयरको कार्यकक्षमा नआएको बताएका उनीहरू पछि मेसु पुगेपछि मेयरको कार्यकक्षमा गएर छलफल गरेका थिए । छलफलमा पनि मेयर शाहीले प्रदेश सरकारले बनाएको समिति वैधानिक नभएको र उक्त अस्पतालको अध्यक्ष आफू रहेको भन्दै आफूसँग समन्वय गर्न सुझाव दिएकी थिइन् ।

















