अत्तरिया– कैलालीको गोदावरी नगरपालिकामा किटजन्य रोग नियन्त्रण सम्बन्धी बहुनिकाय अभिमुखीकरण गोष्ठी कार्यक्रम आयोजना गरिएको छ । सोमबार नगरपालिकाले औँलो, मलेरिया, डेंगु लगायतका किटजन्य रोग नियन्त्रण सम्बन्धी बहुनिकाय अभिमुखीकरण गोष्ठी कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष तेजराज अवस्थी सहित विभिन्न वडाका वडासदस्यहरु तथा नगरका भलमन्साहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत विर बहादुर कुँवरले गरेका थिए ।

कार्यक्रममा किटजन्य रोगको पहिचान, रोकथाम तथा नियन्त्रणका उपाय, संक्रमित व्यक्तिलाई समयमै उपचारको व्यवस्था, जनचेतना अभिवृद्धि तथा सरोकारवालाहरूको भूमिकाबारे जानकारी गराइएको थियो । त्यसबाहेक नगरपालिकाले किटजन्य रोगहरुका विषयमा गर्दै आईरहेको कार्यका बारेमा समेत कार्यक्रममा जानकारी दिईएको थियो ।
















