काठमाडौँ – नेपाल ‘ए’ ले स्कटल्यान्ड र अमेरिका सम्मिलित एकदिवसीय अभ्यास सिरिजमा ‘क्लीन स्वीप’ गरेको छ ।
नेपालले चार वटै अध्यास खेल जितेको हो । मुलपानी मैदानमा सोमबार भएको चौथो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई सात रनले हरायो । नेपालले सन्दीप जोराको शतकको सहयोगमा अमेरिकामाथि जित निकालेको हो ।

रोमाञ्चक जितका लागि नेपाल ‘ए’ ले दिएको दुई सय ६५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको अमेरिकाले ४९.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ५७ रन मात्र बनाउन सकेको थियो ।

नेपालको सिनियर टोलीले अब मङ्गलबारदेखि घरेलु मैदान कीर्तिपुरमा विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज खेल्नेछ ।
नेपालको सिनियर टोलीले एक साता अघिमात्र लिग–२ कै नेपाल, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) सम्मिलित सिरिजको चार खेलमा तीन जित निकालेको थियो ।
नेपालले अब सिरिजमा मङ्गलबार वैशाख २९ गते स्कटल्यान्ड, जेठ २ गते अमेरिका, ४ गते स्कटल्यान्ड र ८ गते अमेरिकासँग खेल्ने छ ।
आठ देश सहभागी लिग–२ मा २४ खेल सकेको नेपाल १८ अङ्कसहित सातौँ स्थानमा छ । शीर्षस्थानमा रहेको अमेरिकाले २४ खेलबाट ३६ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको स्कटल्यान्डको २८ खेलबाट ३४ अङ्क छ ।


















