अत्तरिया– कैलालीको अत्तरियामा रहेको साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ कार्यसमिति चयन भएको छ । शनिवार सम्पन्न निर्वाचनको सोमबार बिहान मतगणना सकिदा अध्यक्षमा राजेन्द्र खड्का निर्वाचित भएका छन् । ११ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा अध्यक्षमा खड्का सहित उनको प्यानलका १० जना निर्वाचित भएका छन् । उनको प्यानलबाट सदस्य पदमा उम्मेदवार बनेका वीर बहादुर विश्वकर्मा पराजित हुन पुग्दा खड्का प्यानल ११ सदस्यीय कार्यसमितिमा क्लीन स्वीप गर्न चुकेको छ ।
२ पुरुष सदस्यका लागि ७ जना चुनावी मैदानमा हुँदा खड्का प्यानलका रमेश कडायत ८६६ मत सहित पहिलो मत ल्याउँदा विश्वकर्मा ६१८ मत ल्याएर तेस्रो भए । उनलाई हर्क शाह प्यानलका धर्मराज भट्टले पछ्याएका थिए । उनले ७३९ मत ल्याए ।

खानेपानीको निर्वाचनमा राजेन्द्र खड्का, गणेश शाह र हर्क शाह प्यानल चुनावी मैदानमा थिए । चुनावमा गणेश शाह प्यानलका अधिकांश उम्मेदवार विजयी खड्का प्यानलका उम्मेदवारका निकटतम प्रतिस्पर्धी रहेपनि नयाँ कार्यसमितिमा भने कसैले पनि जित हात पार्न सकेनन् ।

अन्तिम मत परिणाम अनुसार अध्यक्षमा राजेन्द्र खड्का १ हजार १२२ मत ल्याएर निर्वाचित भएका थिए भने गणेश शाहले ७४२ र हर्क बहादुर शाहले ५३१ मत प्राप्त गरेका थिए । त्यसै गरी संस्थाको उपाध्यक्षमा लक्ष्मण बहादुर कठायत ७७५ मत ल्याएर विजयी हुँदा प्रेम सिंह कडायतले ६४८, चन्द्र सिँह धामीले ३८१ र पुष्पराज चटौतले ४३१ मत प्राप्त गरे ।
त्यस्तै महासचिवमा धर्म सिंह कुँवरले ८११ मत ल्याएर विजयी हुँदा धनराज विष्ट जोशीले ४७८, गोरख बहादुर कडायतले ४४९ र तीर्थराज ओझाले ५०२ मत प्राप्त गरे । सचिवमा छविन्द्र नाथ योगी ८८९ मत ल्याएर विजयी हुँदा मदन शर्मा जोशीले ८४५ र टेक बहादुर मल्लले ४४६ मत प्राप्त गरे ।
कोषाध्यक्षमा भोज बहादुर साउँद ९२९ मत सहित विजयी हुँदा नर बहादुर बलायरले ६२७, सुरेन्द्र बहादुर साउँदले ३२२ र बाबुराम बलम्पाकीले ३७३ मत प्राप्त गरे ।
महिला सदस्यहरूमा चन्द्रा कुमारी कठायतले ८६०, जमुना देवी साउँदले ९३२, राधा विष्ट कुँवरले ७८१ र खिमादेवी ओझाले ८५७ मत प्राप्त गर्दै विजयी भएका छन् । खानेपानीको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा २ हजार ७७५ जनाले मतदान गरेका थिए । खानेपानीमा हाल ५ हजार ७४२ उपभोक्ता रहेका छन् ।



















