अत्तरिया – कैलालीको गोदावरीकी रितु थापाकोको नगद तथा गरगहनाको ब्याग ५ दिन पछि भेटिएको छ । अत्तरियाबाट हाटखोली जाँदा हराएको ब्याग स्याउले प्रहरीले ५ दिन पछि फेला पारेर रितुलाई बुझाएको हो ।
बुधवार साँझ अटोमा हाटखोली गइरहेको अवस्थामा हराएको ब्यागमा १ लाख रुपैयाँ नगद, एनआईसी एसिया बैँकको एटिएम तथा केही गरगहनाहरू रहेको थियो ।


ब्याग धनी रितुले आफ्नो दिदीको छोरीलाई सो नगद रुपैयाँ दिन गइरहेको अवस्थामा बाटोमा ब्याग हराएपछि ब्याग फेला पार्ने व्यक्तिलाई उचित पुरस्कार दिने घोषणा गरेकी थिइन । उनले अत्तरियाबाट हाटखोली पुगेपछि मात्रै ब्याग हराएको थाहा पाएपछि खोजीका लागि अस्थायी प्रहरी बिट स्याउमा निवेदन दिएकी थिइन ।
उनले आफू बसेको अटो चालकले सामान खोजीका लागि सहयोग गरेकाले अटो चालकलाई पूर्व घोषणा गरे अनुसार ५ हजार पुरस्कार दिएको बताइन । ‘म अत्तरियाबाट हाटखोली पुगेपछि सामान छुटेको थाहा पाएको थिए’ उनले भनिन ‘अटो चालकले बाटोमा खाजा खान रोकिएको ठाउँ र अन्य ठाउँमा खोजीका लागि प्रहरीलाई खोजीका लागि सहयोग गरेपछि मेरो ब्याग भेटियो ।’ उनले आफूले भेटिने विश्वास नै नगरेको सामान भेटिएपछि प्रहरी र अटो चालकलाई धन्यावाद समेत ज्ञापन गरेकी छिन ।
अस्थायी प्रहरी बिटका वरिष्ठ हवलदार शम्भु बहादुर खड्काले भेटिएको समान सम्बन्धित व्यक्तिलाई बुझाइसकेको बताए । हराएको ब्याग खोजीका लागि वरिष्ठ हवलदार खड्काकै नेतृत्वमा टोली खटिएको थियो । प्रहरीले हराएको ब्याग खाजा खान रोकिएको होटलमा छुटेको खुल्न आएको र सोधपुछ र केरकार गर्दा फेला परेको जनाएको छ ।















