धनगढी – कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषध सहित पाँच जनालाई पक्राउ गरेको छ । शनिबार गरिएको छुट्टाछुट्टै कारबाहीमा खैरो हेरोइन र चरेससहित उनीहरू पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–२ त्रिनगर भन्सार नजिकबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ बस्ने २३ वर्षीय भुवन ऐरी पक्राउ परेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट २६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै, कैलालीको भजनी नगरपालिका–३ कुसुमघाटबाट जानकी गाउँपालिका–७ बस्ने ३० वर्षीय रामकृष्ण थारु पक्राउ परेका छन् । भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई प्रहरीले जाँच गर्दा ३ ग्राम ४९० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ बरामद गरेको जनाएको छ । प्रहरीले लागूऔषधसँगै साइकल समेत नियन्त्रणमा लिएको छ ।

त्यसैगरी जानकी गाउँपालिका–१ गुजरुवा चौराहबाट जानकी गाउँपालिका–५ पथरैया बस्ने २६ वर्षीय अशोक चौधरी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको टोलीले चेकजाँचका क्रममा उनको साथबाट ८४० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ बरामद गरेको जनाएको छ ।
उता कञ्चनपुरको भीमदत्त नगरपालिका–१० गड्डाचौकी ब्यारेलबाट कैलालीको गौरीगंगा नगरपालिका–३ चौमाला बस्ने १९ वर्षीय आयुष नेपाली पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको टोलीले उनको साथबाट २६० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ र ५७० मिलिग्राम चरेसजस्तो पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ ।
यस्तै, भीमदत्त नगरपालिका–१३ बडैपुरबाट सोही ठाउँका २९ वर्षीय विक्की कुँवर पक्राउ परेका छन् । प्रहरीका अनुसार उनको साथबाट १४० मिलिग्राम खैरो हेरोइनजस्तो धुलो पदार्थ बरामद गरिएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।















