धनगढी – नेपाली कांग्रेसको सुदूपश्चिम प्रदेश स्तरीय भेला धनगढीमा सुरु भएको छ । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले यो भेलाको आयोजना गरेको हो ।
प्रतिष्ठानको संयोजक उपसभापति विश्वप्रकाश शर्मा छन् । भेलामा कांग्रेस सभापति गगन थापा पनि सहभागी छन् । उनी सभापति भइसकेपछि पहिलो पटक सुदूरपश्चिम पुगेका हुन् ।


प्रदेश र स्थानीय तहलाई केन्द्रीत गरेर प्रतिष्ठानले सबै प्रदेशमा यसैगरी दुई दिने भेलाको आयोजना गरिरहेको छ । धनगढीमा पनि आज र भोलि गरेर दुई दिन भेला चल्नेछ ।
कांग्रेसको यो भेलामा आसन ग्रहण डेढ मिनेटमै सकिएको छ । प्रायः राजनैतिक दलहरूको सार्वजनिक कार्यक्रममा आसन ग्रहणमै लामो समय खर्चिने गर्छन् । कांग्रेसले त्यो परम्परालाई तोड्ने प्रयास गरेको जनाएको छ ।
कार्यक्रमको सभापतिका रूपमा प्रदेश प्रतिष्ठानका प्रमुख जनकराज चौधरी र प्रमुख उपस्थितिका रूपमा सभापति गगन थापालाई आसन ग्रहण गराएपछि बाँकीलाई एकमुस्ट आसन ग्रहण गराइएको थियो । भेलामा देउवा पक्षीय प्रदेश सभापति वीरबहादुर बलायर भने उपस्थित छैनन् ।



















