खाेज्नुहाेस

सुदूरपश्चिममा २८ वटा चितुवाको उद्धार, मानव–वन्यजन्तु द्वन्द्वका ३३ सय घटना

Image
file photo

कञ्चनपुर – सुदूरपश्चिममा एक दशकको अवधिमा राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले विभिन्न स्थानमा पासोमा परेका २८ वटा चितुवाको उद्धार गरेको छ । तराइका कैलाली र कञ्चनपुरसँगै पहाडी जिल्लामा पुगेर टोलीले उद्धार गरेको हो । यसबाहेक उद्धार टोली नपुग्दै कतिपय पासोबाट फुत्केर भागेको र केहीको मृत्यु पनि भएको छ । यो तथ्यांकले मानव वन्यजन्तु द्वन्द्व प्रतिदिन बढ्दै गइरहेको प्रस्ट हुन्छ । तराइ होस् वा पहाडी जिल्लामा वन्यजन्तुले बालीनाली नोक्सान गर्ने र मानवमाथि नै आक्रमण गर्नेलगायतका घटनाले द्वन्द्व बढाएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमले सुदूरपश्चिमको पहाडी क्षेत्रमा गरेको अध्ययन अनुसार पनि चितुवा मानव बस्ती सँगसँगै विचरण गरिरहेको देखिएको छ । बैतडीको तल्लो स्वराड क्षेत्र होस् वा दार्चुलाको चौलानी करिडोर अपि बेस क्याम्पमै र डोटीको महाभारत रेञ्ज अधिकांश क्षेत्रमा चितुवा मानव बस्तीनजिकै नै बढी विचरण गरेको देखिएको छ । ‘यसका लागि मानव वन्यजन्तु सहअस्तित्व कायम हुने खालका गतिविधि गरिनुपर्छ,’ कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले भने, ‘वन्यजन्तुको व्यवहारबारे जानकारी दिने, स्थानीयलाई जीविकोपार्जनमा जोड्ने र द्वन्द्व न्यूनीकरणबारे जनचेतना फौलाउने काम गर्न सके मात्रै मानव वन्यजन्तु द्वन्द्व कम हुन सक्छ ।’

attariya hospital

पछिल्लो एक दशकको अवधिमा प्रदेशभरिमा मानव–वन्यजन्तु द्वन्द्वका ३ हजार ३ सय घटना वन तथा निकुञ्ज प्रशासनमा पुगेका छन् । तीमध्ये अधिकांश घटना चितुवासँग सम्बन्धित छन् । त्यसपछि बाँदर र बँदेल र हात्तीबारेका छन् । वनमा आहारा प्रजातिको अभावका कारण चितुवा बस्तीतिर पस्न थालेको हो । यस्ता कतिपय घटना वन तथा निकुञ्ज प्रशासनमा पुगेका छैनन् । ‘अब हामीले पनि व्यवहार परिवर्तन गर्नुपर्ने बेला भएको छ,’ जोशीले भने, ‘मानव वन्यजन्तु दुवैको सहअस्तित्व विकास गर्नुपर्छ ।’ उनका अनुसार यसका लागि वन्यजन्तुका आनीबानी पनि थाहा पाउनुपर्छ, आफ्ना बानी व्यहोरा पनि परिवर्तन गर्नुपर्छ ।

navjiwan hospital

कोषले दार्चुला, बैतडी र डडेलधुरासँगै डोटी, अछाम, बझाङ र बाजुराका विभिन्न क्षेत्रमा पुगेर वन्यजन्तुको अवस्था, बासस्थान, मानव वन्यजन्तु बीचको सम्बन्धलगायतबारे अध्ययन गरेको थियो । विभिन्न क्षेत्रमा स्वचालित क्यामेरा जडान गरेर समेत वन्यजन्तुको अवस्थाबारे अध्ययन गरिएको थियो । यसका साथै अकुपेन्सी सर्भे पनि गरिएको थियो । अकुपेन्सी सर्भे गर्दा प्राविधिकहरु पैदल हिँडेरै वन्यजन्तुको अवस्थाबारे अध्ययन गरिन्छ । यसमा वन्यजवन्तुको हिँडेका छाप, अन्य चिन्हलगायत र आहारा प्रजाति र बासस्थानको अध्ययन गरिन्छ ।

वन्यजन्तुको बढी विचरण हुने विभिन्न क्षेत्रको पहिचान गरेर ऊक्त क्षेत्रमा क्यामेराहरु जडान गरेर अध्ययन गरिएको हो । एक स्थानमा कम्तीमा १५ दिन क्यामेरा राखिएका हुन् । अध्ययनका त्रममा डडेलधुराको अधिकांश क्षेत्र समेटिएको छ भने अन्य जिल्लाका आंशिक क्षेत्र मात्रै समेटिएका छन् ।

डोटी, डडेलधुरा, बैतडी र दार्चुलामा २०२४ फेब्रुअरीदेखि एक वर्षसम्म अध्ययन गरिएको थियो । उक्त क्षेत्रमा २२ वटा स्तनधारी जनावर भेटिएका छन् । जसमा चितुवा, चरी बाघ र वन बिरालो सँगै कालो भालु, कस्तुरी मृगलगायत छन् । बडिमालिका र रामारोशन क्षेत्रमा १८ प्रजातिका स्तनधारी जनावर भेटिएका छन् । कोषले वन्यजन्तुको अवस्थामा मात्रै होइन जडीबुटीको अवस्थाबारे समेत अध्ययन गरेको छ । ती क्षेत्रमा जडीबुटीको अवस्था र मात्राबारे पनि अध्ययन गरेको छ ।

रामारोशन क्षेत्रमा ३ सय १ र बडिमालिकामा ५ सय १७ वनस्पति रहेका छन् । उक्त क्षेत्रमा १२८ प्रजातिका पुतली र १९० प्रजातिका चरा समेत रहेको कार्यक्रम प्रमुख जोशीले बताए । कोषले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सहजकर्ताहरु तयार गरेको छ । सहजकर्ताले समुदायमा वन्यजन्तुको आनीबानी र तिनको आक्रमणबाट जोगिने उपायका साथै संरक्षणका लागि सचेतना फैलाउने काम गरिरहेका छन् । सुदूरपश्चिमका सबै जिल्लामा सहजकर्ताले काम गरिरहेको जोशी बताउँछन् ।