काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीमा खेलाडीद्वय दिपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेको एक दिवसीय वरियतामा सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले बुधबार सार्वजनिक गरेको वरियतामा नेपालको तर्फबाट यी दुई खेलाडीको वरियता सुधार भएको हो ।

दिपेन्द्रसिंह ऐरी एक दिवसीय अलराउन्डरको वरियतामा ३१ औं स्थानमा उक्लिएका छन् । उनले १२ स्थान सुधार गर्दै ३१ औं स्थानमा पुगेका हुन् । त्यस्तै, अलराउन्डर विधामा नेपालका स्पिनर सन्दीप लामिछानेको पनि वरियता सुधार भएको छ । सन्दीपले अलराउन्डरतर्फ ७ स्थान सुधार गर्दै ७१ औं स्थानमा उक्लिएका छन् ।

नेपालका करण केसीको वरियता भने १० स्थान घट्दै ८१ औं स्थानमा पुगेको छ । ललित राजवंशी ३ स्थान घट्दै ८५ र सोमपाल कामी अलराउन्डरको वरियतामा १०० औं स्थानमा तटस्थ रहेका छन् ।
बलिङतर्फ नेपालका स्पिनर सन्दीप लामिछानेले १५ स्थान सुधार गर्दै ४३ औं स्थानमा उक्लिएका छन् । अर्का स्पिनर ललित राजवंशीको भने वरियता घटेको छ । उनी ३ स्थान ओरालो झर्दै ६५ औं स्थानमा पुगेका छन् । दिपेन्द्रसिंह ऐरी ८३ औं स्थानमा तटस्थ छन् । ब्याटिङमा भने नेपालका खेलाडी १०० भित्र परेका छैनन् ।



















