धनगढी– नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा पार्टीको सङ्गठन सुदृढीकरण, निर्वाचनको समीक्षा र आगामी कार्यदिशा तय गर्नका लागि आयोजना गर्न लागेको भेलाका लागि जिम्मेवारी बाँडफाँड गरिएको छ ।

यही बैशाख २६ र २७ गते धनगढीमा दुई दिने बृहत् भेला तथा प्रशिक्षण कार्यक्रमलाई व्यवस्थीत र भव्य बनाउनका लागि कांग्रेसले विभिन्न उपसमितिहरु बनाएर जिम्मेवारी बाँडफाँड गरेको हो ।

जसअनुसार सचिवालय व्यवस्थापनमा केन्द्रीय सदस्य नृप बहादुर ओड, पुष्पा शाही, सुनिता राना र सम्झना खत्री रहेका छन् । भोजन व्यवस्थापनमा भीम बडुवाल रहेका छन् भने आवास व्यवस्थापनमा सचिव केशव मिश्रलाई जिम्मेवारी दिईएको छ । त्यस्तै मञ्च तथा स्थल व्यवस्थापनमा लम्की चुहा नगरपालिकाका प्रमुख सुशीला शाहीलाई र प्रचार–प्रसारमा पदमराज पन्तलाई जिम्मेवारी दिइएको छ ।
कार्यक्रमको पहिलो दिन अर्थात् २६ गते धनगढीको वडा नं. ४ स्थित सौराई हलमा महामन्त्री गगन कुमार थापाले भेलाको उद्घाटन गर्ने सह–महामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले जानकारी दिए । उनले भेलामा पार्टी सभापति गगन कुमार थापासहित पार्टीका नेता विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतका शीर्ष नेताहरू २६ गते बिहान नै धनगढी पुग्ने बताए । २७ गते बिहान शीर्ष नेताहरूले ९ वटै जिल्लाका पार्टी पदाधिकारी र कार्यकर्ताहरूसँग समसामयिक राजनीतिक विषयमा छुट्टै अन्तरक्रिया समेत गर्ने उनले बताए ।

















