बझाङ – सरकारले देशव्यापी विद्यालय भर्ना अभियान चलाइरहेकै बेला बझाङका दर्जनौं विद्यालय भने यार्चा संकलनका लागि बन्द गरिएका छन् । सबै विद्यार्थी यार्चा टिप्न लेकतिर लागेपछि यहाँका धेरैजसो विद्यालय जेठसम्मका लागि बन्द भएका हुन् । सुर्मा र साइपाल गाउँपालिकाका सबै विद्यालय र तलकोट, मस्टा, केदारस्युँ गाउँपालिका तथा बुंगल र जयपृथ्वी नगरपालिकाको उत्तरी क्षेत्रका विद्यालय जेठ मसान्तसम्मका लागि बन्द भएका हुन् । यस क्षेत्रका ५० भन्दा बढी विद्यालय बन्द रहेको स्थानीयले बताएका छन् । ती विद्यालयमा असार १ देखि विद्यार्थी भर्ना सुरु हुनेछ ।
आम्दानीको मुख्य स्रोत नै यार्चा भएकाले यो सिजनमा ७÷८ वर्षका बालबालिकादेखि हिँड्न सक्ने वृद्धवृद्धासम्म लेकतर्फ लागेका छन् । विद्यालय बन्द भएपछि विद्यार्थीसँगै शिक्षक पनि यार्चा संकलनका लागि पाटनतिरै उक्लिन थालेका छन् । ‘हामी पनि एक÷दुई दिनमै लेक जाने तयारीमा छौं,’ साइपालको काँडा माविका शिक्षक जीवन बोहराले भने, ‘स्कुल बन्द भएका बेला घरमै बस्नुभन्दा लेकतिर गयो भने आम्दानी पनि हुन्छ ।’ उनले अन्य पालिकामा घर भएका धेरैजसो शिक्षक पनि विद्यार्थीसँगै लेक पुग्ने गरेको बताए ।

अभिभावकसँगै विद्यार्थी पाटनतिर गएकाले असार १ देखि भर्ना सुरु गरिने साइपाल गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख ज्ञानबहादुर बोहराले बताए । सुर्मा गाउँपालिकामा पनि असार १ बाट मात्र विद्यार्थी भर्ना गर्ने योजना छ । यो क्षेत्रका विद्यालय हरेक वर्ष यार्चा संकलनको सिजनमा डेढ÷दुई महिना बन्द हुने गरेका छन् । यो अवधिको बिदालाई बर्खे बिदासित मिलान गरिने साइपालका शिक्षा शाखा प्रमुख बोहराले बताए ।

निरन्तर हिउँ झर्दा यार्चा संकलनका लागि पाटन जाने यात्रा थप सकसपूर्ण बनेको छ । ‘बाटोभरि हिउँ छ । हिउँ नभएको बेला त दुई दिनमै पाटन पुगिन्थ्यो । यो पाला तीन दिन लाग्यो,’ आफन्त र छिमेकीसहित हिउँ छिचोल्दै स्याङवन पाटन पुगेका साइपाल गाउँपालिका–४ का टसी तामाङले भने, ‘हिउँले गर्दा बाटो पनि चिप्लो र डरमर्दो भएको छ ।’ भीर, पहरा र चट्टानको अप्ठ्यारो बाटो हिउँले गर्दा झन् जोखिमपूर्ण भएको उनले सुनाए । ‘बच्चा र महिलालाई झन् गाह्रो भयो, बल्लबल्ल पाल हाल्ने ठाउँमा पुगेका छौं,’ उनले भने ।
वैशाख सुरुतिरै यार्चा संकलनका लागि पाटन पुगिसक्ने टसीजस्तै बझाङका संकलक निरन्तर हिमपातका कारण दुई साता ढिलो गरी पाटनतर्फ गइरहेका छन् । मौसम सफा भए एक÷दुई दिनमै हिउँ पग्लिएर राम्रो यार्चा पाइने आशामा उनीहरू जोखिम मोलेरै पाटन गइरहेका हुन् । चैत अन्तिमतिर बन्दोबस्तीका सामान पु¥याएर गाउँ झरेका संकलकहरू मौसम सफा हुने आशामा गाउँमै बसेका थिए ।
‘किरा बढी पाइने बेला यही हो, घाम लाग्यो भने हिउँ पग्लिहाल्छ,’ साइपालकै राइढुगी पाटन हिँडेकी धलौनकी धनसरा बोहराले भनिन्, ‘मौसम सफा हुन्जेल पालमै बस्छौं, हिउँ पग्लिनेबित्तिकै किरा खोजौंला भनेर हिँडेकी हुँ ।’ वैशाख पहिलो साता नै पाटन पुगेका केहीले भने यार्चा खोज्न थालिसकेको उनले सुनाइन् ।
साइपाल मात्र नभएर यस वर्ष तलकोट, सुर्मा, मस्टा, छबिस पाथीभेरा, दुर्गाथली गाउँपालिका, बुंगल तथा जयपृथ्वी नगरपालिका अधिकांश संकलकहरू ढिलो गरी यार्चा टिप्न निस्केका छन् । स्थानीयवासी परिवारसहित लेकतिर लागेपछि उत्तरी क्षेत्रका गाउँ सुनसान देखिन थालेका छन् । उनीहरू पाटनमा आवश्यक पर्ने त्रिपाल, टेन्टसहित खाद्यान्न लत्ताकपडा तथा अन्य दैनिक उपभोग्य सामग्रीसहित जाने गर्छन् । भेडा, घोडा, खच्चड हुनेहरूले चौपायाबाट र नहुनेले बोकेरै सामान संकलन क्षेत्रमा पु¥याउने गर्छन् । धेरैजसो संकलकका घरबाट केही व्यक्ति चैत अन्तिमतिर नै पाटन गएर बास बस्नका लागि पाल गाड्ने तथा दाउराको जोहो गर्ने काम गरिसकेपछि परिवारका अन्य सदस्य लेक उक्लिने गर्छन् ।
यार्चा संकलनको समयमा जिल्लाको उत्तरी भेगबाट धनगढी, महेन्द्रनगर, काठमाडौंलगायतका ठाउँमा काम विशेष र अध्ययनका लागि गएका मानिस पनि फर्कने गरेका छन् । यस अवधिमा अल्पकालीन रोजगारीका लागि भारतका विभिन्न ठाउँमा गएका स्थानीय पनि आउने गरेको तलकोटका वीरेन्द्र रोकायले बताए । उत्तरी क्षेत्रका सबै गाउँका स्थानीय वैशाखदेखि असारसम्म यार्चा संकलन क्षेत्रमा बस्ने गर्छन् । गाउँमा अशक्त, वृद्धवृद्धा, नवसुत्केरी महिला, हिँडडुल गर्न नसक्ने बालबालिका मात्र हुने गर्दछन् । ‘धेरैजसो लेक उक्लिसके,’ साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामीले भने, ‘बाँकी रहेका केही परिवार पनि आजभोलि नै जाने तयारीमा छन् । अब दुई÷चार दिनमा सबै गाउँ खाली भइसक्छन् ।’



















