धनगढी– कैलाली र कञ्चनपुरबाट प्रहरीले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । कैलालीबाट २ जना र कञ्चनपुरबाट १ जना गरी ३ जनालाई प्रहरीले ३ ग्राम १० मिलिग्राम लागुऔषध सहित पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको संयुक्त टोलीले टिकापुर नगरपालिका–९ खक्रौलाबाट १ ग्राम ६९० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ का २० वर्षीय लक्ष्मण शाही र सोही स्थानका २६ वर्षीय प्रकाश रिमाल रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको से ५ प ४४४० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले लागूऔषधसहित मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।

त्यस्तै, इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको टोलीले बेलौरी नगरपालिका–७ पौलाहाबाट १ ग्राम ४१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१३ राजपुरका १९ वर्षीय जनक राम राना रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा शंका लागी चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















