धनगढी – नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान, कैलालीले प्रदान गर्दै आएको “मनिराज वाङ्मय पुरस्कार २०८०” वरिष्ठ साहित्यकार शिवगोपाल रिसाललाई समर्पण गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष साहित्यकार एवं संस्कृतिविद पद्मराज जोशी ‘प्रभात’ का अनुसार पुरस्कारका लागि गठित प्रतिभा छनोट समितिको सिफारिसका आधारमा रिसाललाई यस वर्षको पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । पुरस्कार छनोटका लागि प्राध्यापक डिल्लीराज फुलाराको संयोजकत्वमा साहित्यकार स.प्रा. गणेशराज जोशी र स.प्रा. डा. रामचन्द्र विनाडी सदस्य रहेको समिति गठन गरिएको थियो ।


समितिले नेपाली साहित्य क्षेत्रमा दीर्घकालीन योगदान, सिर्जनात्मक सक्रियता तथा साहित्यिक प्रभावका आधारमा रिसाललाई पुरस्कारका लागि सिफारिस गरेको जनाएको छ ।
उक्त पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । पुरस्कारका लागि साहित्यकार मनिराज जोशीका परिवारजनले प्रतिष्ठानमा १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए । सोही कोषबाट हरेक वर्ष उत्कृष्ट साहित्यकारलाई सम्मान गर्दै पुरस्कार प्रदान गरिँदै आएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले निकट भविष्यमा औपचारिक कार्यक्रम आयोजना गरी पुरस्कार समर्पण गर्ने तयारी गरिरहेको पनि जनाएको छ । यस पुरस्कारले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको विश्वास लिइएको छ ।


















