काठमाडौं – जय ट्रफी पुरुष एलिट कप खेल्ने ६ टिमको टुङ्गो लागेको छ । बुधबार प्रधानमनत्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लिग चरणका सम्पूर्ण खेल सकिएलगत्तै उत्कृष्ट ६ टिमको छिनोफानो भएको हो । यससँगै त्रिुभवन आर्मी क्लब, सुदूरपश्चिम प्रदेश, एपीएफ क्लब, मधेस प्रदेश, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लबले जय ट्रफी खेल्ने पक्का भएको छ ।
जय ट्रफी प्रतियोगितालाई थप प्रतिस्पर्धी र खेलाडीहरूलाई थप अवसर प्रदान गर्न आगामी संस्करणदेखि सहभागी टोलीको संख्या ६ पुर्याइएको क्यानले जनाएको छ।यसअघिको व्यवस्था अनुसार प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका उत्कृष्ट ४ टोलीले मात्र जय ट्रफीमा खेल्न पाउने प्रावधान थियो।


जारी प्रधानमन्त्री कपको लिग चरणको खेल सकिँदा सम्पूर्ण ९ खेलमा विजयी भएको त्रिभुवन आर्मी क्लब १७ अंकसहित शीर्ष स्थानमा रहँदै फाइनल पुगेको छ । ९ खेलमा ६ मा जित र ३ मा पराजित भएको सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो।
तेस्रो स्थानमा एपीएफ क्लब छ। एपीएफले ९ खेलमध्ये ५ मा जित ३ मा हार र १ मा अंक बाँड्दै लिग चरणमै रोकिएको छ । ९ खेलमध्ये ५ मा जित, ३ मा पराजय र १ खेलमा अंक बाडेको मधेस ११ अंकसहित चौथो स्थानमा रह्यो ।
९ खेलमा ४ मा जित, ४ मा हार व्योहोरेको र १ खेलमा अंक बाडेको नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश क्रमश ९–९अंकसहित क्रमश पाँचौं र छैँटौं स्थानमा रह्यो ।














