धनगढी – सुदूरपश्चिम प्रदेशसभाको सातौ अधिवेशन सुरु भएको छ । बैठकमा प्रदेश सरकार सँगै केन्द्र सरकार र जेन जी आन्दोलनको चर्चा भएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका खगराज भट्टले जेनजी आन्दोलनपछि केन्द्रमा सरकार हराएको र प्रदेशमा कुम्भकर्ण जस्तो सुतेको बताए ।
उनले प्रदेश सरकार बिचौलिया र दलालसँग कमिसन लिएर योजना बेचेको पनि आरोप लगाए । ‘जनताले इतिहासमा सबैलाई अवसर दिएका हुन्, तर हामीले त्यो सदुपयोग गर्न सकेनौँ,’ उनले भने, ‘कार्यकाल सकिन लाग्दासम्म पनि हामीले राजधानी टुंगो लगाउन नसक्नु सरकारको उदासीनता हो ।’ उनले प्रदेश सरकारले कुनै नयाँ काम नगरेको भन्दै सरकारको औचित्य नरहेको बताए ।


नेकपा एमालेका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले एमाले अध्यक्ष केपी शर्मा ओली तथा कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरे । प्रदेश सभा बैठकमा आफ्नो धारणा राख्दै उनले २३ र २४ गतेको घटनामा संलग्नता नै नभएका नेताहरूलाई पक्राउ गरेर सरकारले मानवअधिकारको समेत उल्लंघन गरेको बताए ।
‘देश अराजकतावादतर्फ धकेलिएको छ । विधिको शासन अन्त्य हुँदै गइरहेको छ,’ उनले भने,‘कुनै कसुर प्रमाणित नभएरै हाम्रो पूर्व प्रधानमन्त्री तथा पूर्व गृहमन्त्रीलाई थुनामा राखिएको छ । तत्काल रिहा गर्नुपर्छ ।’ संसद भवनदेखि व्यक्तिको घर जलाउनेसम्मका व्यक्तिहरूको खोजी हुनुपर्ने उनले बताए । आफ्नो घर जलाउन लगाउनेहरूको विस्तृत विवरण र सूचना रहेको उनले संसदलाई जानकारी गराएका थिए ।
सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रम धामीले २४ भदौमा सरकारी र निजी सम्पत्तीमाथि भएको आगजनीको खेद प्रकट गरे । ‘पुराना दलले जतिसुकै गलत गरे पनि सिंहदरवारमाथि आगजनी गरेका थिएनन्,’ उनले भने । नेपाली जनताले बेलाबेला फरकफरक दललाई विश्वास गरेको बताउँदै रास्वपा नेतृत्वको वर्तमान सरकारका केही दिन हेर्न भने कुर्नुपर्ने बताए ।
धामीले पार्टीका सभापति शेरबहादुर देउवा तथा आरजु राणा देउवामाथि आक्रमण हुँदासमेत कसैले आवाज उठाउन नसकेको बताए । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको पनि उनले विरोध जनाए । किरियामा भएको बेलासमेत सरकारले मानवता नदेखाएको उनको भनाई थियो ।
आजको बैकठमा आसञ्चार विधेयक पनि टेबुल भएको छ । अर्को बैठक २५ गते बोलाइएको छ ।















