डडेल्धुरा – डडेल्धुरामा चैत २८ देखि वैशाख १० गतेसम्म कृषि, पर्यटन, कला, संस्कृति तथा औद्योगिक व्यापार महोत्सव आयोजना हुने भएको छ । महोत्सव जिल्लाको खुलामञ्च टुँडिखेलमा आयोजना हुने भएको हो । राष्ट्रिय संगीतकर्मी संघ डडेल्धुरा जिल्ला शाखाले आइतबार पत्रकार सम्मेलनमार्फत महोत्सवको तयारी तीव्र रूपमा अघि बढिरहेको जानकारी दिएको छ ।
महोत्सवलाई यस वर्ष विशेष गरी मनोरञ्जन र सांस्कृतिक जगेर्नासँग जोडेर सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ । संघका जिल्ला अध्यक्ष गणेश केसीका अनुसार महोत्सवमार्फत स्थानीय कला र संस्कृतिको संरक्षण गर्ने तथा दर्शकलाई विविध सांगीतिक र सांस्कृतिक कार्यक्रममार्फत आकर्षित गर्ने लक्ष्य राखिएको छ ।


महोत्सवमा स्थानीय कृषिजन्य उत्पादनको प्रदर्शन तथा बिक्रीसँगै विभिन्न व्यापारिक स्टलहरू रहनेछन् । साथै, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति प्रमुख आकर्षणका रूपमा रहनेछ । दर्शकको मनोरञ्जनका लागि तथा बालबालिकालाई लक्षित गरी चर्खा, बाल उद्यान, विभिन्न खेलकुद तथा अन्य मनोरञ्जनात्मक सामग्रीहरू पनि समावेश गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा प्रवेशका लागि सर्वसाधारणलाई एक सय रुपैयाँ र विद्यार्थीलाई परिचयपत्रका आधारमा ५० रुपैयाँ शुल्क तोकिएको छ । अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
गत वर्ष पनि यस्तै महोत्सव आयोजना गरिएको स्मरण गराउँदै आयोजकले यस पटक कार्यक्रमलाई अझ आकर्षक र व्यवस्थित बनाउने तयारी गरिएको जनाएको छ ।















