वीरगन्ज – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमका तीव्र गतिका बलर हेमन्त धामीले ह्याट्रिकसहित सात विकेट लिँदा बागमती प्रदेशले लज्जास्पद हार व्यहोरेको छ । जनकपुरधामस्थित रामजानकी मैदानमा २१० रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको बागमतीविरुद्ध आक्रामक बलिङ गर्दै हेमन्तले सात विकेट लिएका हुन् ।
बागमतीको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा हेमन्तले आफ्नो तेस्रो ओभरमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए । उनले तेस्रो ओभरको अन्तिम तीन बलमा आशुतोष घिरैया, पवन थापा र इशान पाण्डेको विकेट लिए ।


लगातार तीन गुमाएपछि दवावमा परेको बागमतीविरुद्ध हेमन्तले थप चार विकेट चट्काए । प्लेयर अफ दि म्याच धामीले विवेक मगर, रिजन ढकाल, प्रतिश जिसी, सन्दीप लामिछानेलाई पेभेलियन फर्काए । ६ ओभर बलिङ गरेका धामीले १४ रन खर्चिए ।
यससँगै धामी जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । धामीले ६ इनिङमा २१ विकेट लिएका छन् । यसैगरी सुदूरपश्चिमका कप्तान शेर मल्लले तीन विकेट लिएका छन् । ३.२ ओभर बलिङ गरेका मल्लले दुई रन खर्चिएर सचिन लेखक, शुभ कंसकार र उत्तम मगरको विकेट हात पार्दा सुदूरपश्चिमले १६३ रनको सानदार जित हात पार्यो । बागमतीले ४६ रनमै समेटियो ।
बागमतीका लागि शुभ कंसकारले ३२ रन जोड्दा अन्य ब्याटरले दोहोरो संख्यामा रन जोड्न सकेनन् । यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४२.१ ओभरमा सबै विकेट गुमाएर २०९ रन जोडेको थियो । सुदूरपश्चिमका नारायण जोशीले अर्धशतक प्रहार गरेका थिए । जोशीले ६८ बलमा ७५ रन जोडे । यसैगरी दिपक बोहोराले ४०, अभिषेक पालले ३९ र अशोक धामीले १७ रन बनाए ।
बागमतीका सन्दीप लामिछाने र प्रतिश जिसीले समान चार÷चार विकेट लिए भने रिजन ढकाल र सोनु देवकोटाले एक एक विकेट हात पारे । जितसँगै सुदूरपश्चिम तालिकाको शीर्षस्थानमा उक्लिएको छ । सुदूरपश्चिमले ६ खेलमा पाँच जितसहित १० अंक जोडेको छ । समान खेल खेलेको बागमती भने चार अंकसहित आठौं स्थानमा छ ।

















