एजेन्सी– श्रीलंकाली तीव्र गतिका बलर नुवान तुसाराले इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्नका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ नपाएपछि श्रीलंका क्रिकेट बोर्डविरुद्ध अदालतमा मुद्दा दर्ता गरेका छन् ।
तुसाराले यस वर्ष आईपीएलमा ‘रोयल च्यालेन्जर्स बेंगलुरु’ बाट खेल्ने तय थियो । तर, श्रीलंका क्रिकेट बोर्डले उनले नयाँ र कडा ‘फिटनेस टेस्ट’ पास नगरेको भन्दै आईपीएल खेल्न जाने अनुमति दिन अस्वीकार ग¥यो । यसैको विरुद्धमा उनले कोलम्बो जिल्ला अदालतमा मुद्दा हालेका हुन् ।


तुसाराका अनुसार श्रीलंका क्रिकेटसँगको उनको सम्झौता मार्च ३१ मा सकिँदैछ । उनी अब अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिएर व्यावसायिक लिगहरू खेल्न चाहन्छन् । उनको भनाइ छ– ‘जब म बोर्डको सम्झौतामा रहन्न, तब मलाई आफ्नो जीविकोपार्जन गर्न (पैसा कमाउन) विदेश जानबाट रोक्नु अनुचित हो ।’ उनले पहिला पनि यस्तै फिटनेस लेभलमा एनओसी पाउँदै आएको तर अहिले नियम कडा बनाएर आफूलाई रोकिएको दाबी गरेका छन् ।
श्रीलंकाको क्रिकेट टोलीको खराब प्रदर्शनपछि बोर्डले फिटनेसमा निकै कडा नियम ल्याएको छ । जसमा २ किलोमिटर दौड, २० मिटर स्प्रिन्ट (दौड), फुर्तिलोपन टेस्ट, शरीरको बोसो मापन र जम्प टेस्ट समावेश छन् । यी सबैमा अंक दिइन्छ र निश्चित अंक नल्याउने खेलाडीलाई छनोट वा एनओसीका लागि अयोग्य मानिन्छ । तुसाराले यी परीक्षामा तोकिएको अंक ल्याउन सकेनन् ।
यो मुद्दाको सुनुवाइ अप्रिल ९ मा हुने तय भएको छ । इस्टर पर्वका कारण अदालत बिदा हुने भएकाले यो मितिभन्दा अगाडि केही हुन सक्दैन । यसको मतलब, आईपीएल मार्च २८ बाटै सुरु भइसकेकोले तुसाराले कम्तीमा सुरुवाती दुई हप्ताका खेलहरू गुमाउने पक्का भएको छ ।
यो घटना दक्षिण अफ्रिकाका स्पिनर तबरैज शम्सीको केससँग मिल्दोजुल्दो छ । शम्सीले पनि आफ्नो बोर्डले एनओसी नदिएपछि अदालत गुहारेका थिए र अदालतले खेलाडीको पक्षमा फैसला गर्दै एनओसी दिन आदेश दिएको थियो । तुसाराको मुद्दाले पनि क्रिकेट जगतमा एउटा ठूलो नजिर स्थापना गर्न सक्छ ।


















