बझाङ – बझाङको जयपृथ्वी नगरपालिका–१ कैलासमा रहेको मालिका हातेकागज उद्योग पुनः सञ्चालन गर्न तथा त्यससँग सम्बन्धित आर्थिक अनियमितताको छानबिन गर्न जेनजी अभियन्ता सुनिल सिंहले माग गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सम्बोधन गरी पेश गरिएको निवेदनमा उक्त उद्योग स्थानीय सीप, स्रोत र पहिचानसँग जोडिएको महत्वपूर्ण हस्तकला केन्द्र भएको उल्लेख गरिएको छ ।
निवेदनमा भनिएको छ, ‘यहाँ उत्पादन हुने हातेकागज गुणस्तरका हिसाबले उत्कृष्ट रहँदै आएको र यसले स्थानीय स्तरमा रोजगारी सिर्जना, आयआर्जन तथा पहिचान निर्माणमा उल्लेखनीय योगदान पु¥याएको थियो ।’


तर, हाल उद्योग पूर्ण रूपमा बन्द अवस्थामा पुगेको भन्दै सिंहले यसले स्थानीय जनताको जीविकोपार्जनमा गम्भीर असर पारेको बताएका छन् । यति महत्वपूर्ण उद्योग जोगाउन सम्बन्धित निकायको ध्यान पर्याप्त रूपमा नपुगेको पनि उनको भनाइ छ ।
निवेदनमा उद्योग सञ्चालनका क्रममा जनताबाट उठाइएको रकमको प्रयोगमा गम्भीर अनियमितता भएको आशंका व्यक्त गरिएको छ । यस सम्बन्धमा हालसम्म पारदर्शी हिसाबकिताब सार्वजनिक नगरिएको भन्दै उनले निष्पक्ष र पारदर्शी छानबिन गर्न माग गरेका छन् ।
सिंहले उद्योग पुनः सञ्चालनका लागि ठोस कार्ययोजना ल्याउन, आर्थिक कारोबारको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन तथा उद्योगलाई दिगो रूपमा सञ्चालन गर्न आवश्यक बजेट, प्रविधि र व्यवस्थापन सुनिश्चित गर्न पनि आग्रह गरेका छन् । साथै, भविष्यमा यस्ता अनियमितता दोहोरिन नदिन कडा अनुगमन र उत्तरदायित्वको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।
















