धनगढी – सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धन कांग्रेस र एमालेबीच खटपट भएको छ । प्रदेश सरकारका विभिन्न निकायमा गरिने राजनीतिक नियुक्तिको विषयलाई लिएर दुई दलबीच खटपट भएपछि बिहीबारको मन्त्रिपरिषद्को बैठकमा एमालेका मन्त्रीहरू सहभागी भएनन् । एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीको अनुपस्थितमा मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीसँग मात्र मन्त्रिपरिषद्को बैठक राखेका छन् ।
बैठकले एमालेसँगको भागबण्डा अनुसार कांग्रेसको भागमा परेको दार्चुला, बैतडी, बझाङ र बाजुरा अस्पताल व्यवस्थापन समितिका पदाधिकारी र सदस्य नियुक्त गर्ने निर्णय गरेको छ ।
एक मन्त्रीकाअनुसार कांग्रेसको भागमा परेको अस्पताल व्यवस्थापन समितिका पदाधिकारी र सदस्य नियुक्त गर्ने निर्णय गरिएको हो । बैठकले स्थानीय तह सेवा सञ्चालन ऐन नियमावली सुझावका लोक सेवा आयोगमा पठाउने, आर्थिक मामिला मन्त्रालयले पेश गरेको बहुवर्षीय मापदण्ड र सवारीसाधन खरिद सम्बन्धी मापदण्ड स्वीकृत गर्ने निर्णय गरेको छ ।


बैठकमा सहभागी सामाजिक विकास मन्त्री मेघराज खड्काले बिहीबारको बैठकमा एमालेबाट प्रतिनिधित्वि गर्ने मन्त्री सहभागी नभएको स्वीकार गरे । उनकाअनुसार एमालेको भागमा परेका अस्पताल व्यवस्थापन समिति लगायतका निकायमा नाम टुंगो लगाउन बाँकी रहेकाले बैठक सार्न अनुरोध आएको थियो तर मुख्यमन्त्री शाहले भने कांग्रेसको भागमा परेका निकायको मात्रै नियुक्त गर्ने निर्णय लिने जानकारी एमालेलाई गराएका थिए ।
नेकपा एमालेले समेत आन्तरिक रुपमा पार्टीभित्र कुराकानी नमिलेका कारण बिहीबारको बैठक सार्न मुख्यमन्त्री शाहलाई आग्रह गरेको थियो । सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल लगायतले मुख्यमन्त्रीलाई बैठक सार्न अनुरोध गरेका थिए ।
तर, शाहले भने भागबन्डामा एमालेको भागमा परेका अस्पताल तथा अन्य निकायको नियुक्तिबारे निर्णय नलिने बताएका थिए । एमालेका एक मन्त्रीले भने नेपाली कांग्रेसले विगतमा भएको समझदारी तोड्दै टीकापुर अस्पताल व्यवस्थापन समितिको अध्यक्ष लिन खोजेपछि बिहीबारको बैठकमा मन्त्रीहरू सहभागी नभएका हुन् ।


















