धनगढी – कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब ४० करोड ६७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को साउनदेखि फागुन मसान्तसम्ममा उक्त परिमाणको राजस्व सङ्कलन गरेको हो ।

कार्यालयले भन्सार महसुलतर्फ दुई अर्ब ८४ लाख रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब सात करोड ५९ लाख रुपैयाँ, अन्तःशुल्कतर्फ १० करोड ५६ लाख रुपैयाँ र अन्यतर्फ एक अर्ब २१ करोड ६६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार कार्यालयको चालु आर्थिक वर्षमा नौ अर्ब ७१ करोड १५ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य छ । आठ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ५५ दशमलव ६७ प्रतिशत रहेको उनले जानकारी दिए ।
चालु आर्थिक वर्षका कुनै पनि महिनामा राजस्व सङ्कलन लक्ष्यमा भने पुग्न सकेको छैन ।



















