धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले २०४६ सालपछि भएका सबै भ्रष्टाचारका घटनाको छानबिन हुनुपर्ने बताएका छन् । घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारको विषयमा कसैले खुट्टा नकमाउन आग्रह गर्दै सरकारले छानबिनको प्रक्रिया अघि बढाउनुपर्ने बताए ।
‘२०४६ सालदेखिका सबै भ्रष्टाचारका मुद्दा छानबिन हुनुपर्छ । कसैले खुट्टा नकमाउनुहोस्, हामी साथमा छौँ,’ उनले भने । मुख्यमन्त्री शाहले मुलुक स्थिर सरकारतर्फ अघि बढिरहेको बताउँदै अब देश विकास र समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे । उनले संविधान संशोधनको विषय पनि अगाडि बढ्न सक्ने बताउँदै त्यसका लागि शुभकामना व्यक्त गरे ।


उनले युवाहरू विदेश पलायन भइरहेका विषयमा चिन्ता व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावका बेला दिएका आश्वासन पूरा गर्नुपर्ने बताए ।
प्रदेश संरचना र गणतन्त्रजस्ता विषयमा पनि रास्वपाले स्पष्ट धारणा ल्याउनुपर्ने उनको भनाइ थियो । ‘प्रदेश संरचना भत्काउने हो भने स्पष्ट भन्नुपर्छ, अधिकार दिन्छु भनेपछि दिनुपर्छ,’ उनले भने ।
देश विकासका लागि निश्चित समयभित्र स्पष्ट रोडम्याप र कार्यतालिका ल्याउनुपर्नेमा उनले जोड दिए । साथै वर्तमान समयअनुसार शिक्षा प्रणालीमा सुधार र गुणस्तर वृद्धि आवश्यक रहेको पनि उनले बताए ।


















