कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिका–६ “ङ” गाउँबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन ।

मंगलबार कैलालीको धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार बस्ने ४३ वर्षीय हर्कबहादुर खड्का र कैलालीकै जानकी गाउँपालिका–७ पठरैया बस्ने ३० वर्षीया मिना राजी पक्राउ परेका हुन ।

भारतबाट नेपालतर्फ आउँदै गरेको से ६ प ६९९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा पक्राउ गरेको थियो । उनीहरूको साथबाट ६५० मिलिग्राम लागूऔषध खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ तथा एक डिब्बा कोरेक्स बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद गरिएको लागूऔषध र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ ।



















