बैतडी– प्रतिनिधि सभा सदस्य निर्वाचनमा आएको परिणाम पश्चात बैतडीमा कांग्रेस एमालेले चुनावी समिक्षा कार्यक्रम आयोजना गर्ने भएका छन । कांग्रेसले मंगलबार देखी र एमालेले बुधबार देखी जिल्लाभर चुनावी समिक्षा कार्यक्रम आयोजना गर्ने भएका हुन ।
मंगलबारदेखि जिल्लाका १० ओटै तहमा चुनावी समीक्षा तथा भेटघाट कार्यक्रमको आयोजना गर्ने तय भएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । गत बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस उम्मेदवार चतुरबहादुर चन्द रास्वपा उम्मेदवार हरिमोहन भण्डारीसँग पराजित भएपछि कांग्रेसले चुनावी समीक्षा कार्यक्रमको आयोजना गर्न लागेको हो । उम्मेदवार एवं कांग्रेस सभापति चन्दसहितको सहभागितमा सबै पालिकामा चुनावी समीक्षा र भेटघाट कार्यक्रम सञ्चालन गरिने नेपाली कांग्रेस बैतडीले जनाएको छ ।

फागुन २६ गते बिहान ११ बजे पञ्चेश्वरको आमचौरा र दिउँसो ३ बजे शिवनाथको सुल्लेखानमा कार्यक्रम हुने बताइएको छ । यस्तै फागुन २७ गते बिहान ११ बजे मेलौलीको काँडा र दिउँसो ३ बजे पाटनको पाटन बजारमा चुनावी समीक्षा कार्यक्रम आयोजना गरिने कांग्रेस बैतडीले जनाएको छ ।

यस्तै फागुन २८ गते बिहान ११ बजे सिगास गाउँपालिकाको गर्जे, फागुन २९ गते दिउँसो १२ बजे पुर्चौंडी नगरपालिकाको हाट, फागुन ३० गते बिहान ११ बजे डिलाशैनी गाउँपालिकाको धामीगाउँ, आगामी चैत १ गते बिहान ११ बजे दोगडाकेदार गाउँपालिकाको खिरीगाउँ र दिउँसो ३ बजे सुर्नया गाउँपालिकाको डुङरीमा चुनावी समीक्षा कार्यक्रम आयोजना गरिने जनाइएको छ । यस्तै चैत २ गते बिहान ११ बजे दशरथचन्द नगरपालिकाको चुनावी समीक्षा कार्यक्रम पार्टी कार्यालय गोठलापानी गरिने कांग्रेस बैतडीले जनाएको छ ।
यसैगरी नेकपा एमालेले पनि जिल्लाका सबै स्थानिय तहहरुमा चुनावी समिक्षा कार्यक्रम आयोजना गर्ने जनाएको छ । हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमाले पराजित भएपछि पार्टीले चुनावी समीक्षा कार्यक्रमको आयोजना गर्न लागेको एमाले बैतडीका अध्यक्ष नरेशकुमार विश्वकर्माले जानकारी दिए । फागुन २७ गतेदेखि चैत ३ गतेसम्म सबै पालिकामा प्रतिनिधि सभा सदस्य उम्मेदवार एवं केन्द्रीय सदस्य दामोदर भण्डारीसहितको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिने उनले बताए ।
फागुन २७ गते दोगडाकेदार गाउँपालिकाको खोचलेक र डिलाशैनी गाउँपालिकाको पङसेरामा कार्यक्रमको आयोजना गरिने तय भएको उनको भनाई छ । यस्तै फागुन २८ गते पुर्चौंडी नगरपालिकाको हाट, फागुन २९ गते सिगास गाउँपालिकाको गर्जे, फागुन ३० गते सुर्नया गाउँपालिकाको रौलेश्वर, चैत १ गते पञ्चेश्वर गाउँपालिकाको आमचौरा र शिवनाथ गाउँपालिकाको सुल्लेखानमा कार्यक्रम आयोजना गरिने एमाले बैतडीले जनाएको छ । त्यतिमात्रै नभई चैत २ गते मेलौली नगरपालिकाको पार्टी कार्यालय र पाटन नगरपालिकाको सभाहलमा कार्यक्रम सञ्चालन गर्ने तयारी एमालेले गरेको छ । चैत ३ गते दशरथचन्द नगरपालिकाको जिल्ला पार्टी कार्यालयमा कार्यक्रम गरी चुनावी समीक्षा सम्पन्न गरिने एमाले बैतडीले जनाएको छ ।
२०७० सालदेखि बैतडीमा लगातर जित्दै आएको एमाले यो निर्वाचनमा तेश्रो भएको छ । यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारी २२ हजार १३४ मतसहित विजयी भएका छन् । एमाले उम्मेदवार दामोदर भण्डारी १७ हजार ९१ मतसहित तेस्रो स्थानमा सीमित भएका छन् ।


















