अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ अन्तरगत गोदावरी नगरपालिकाका १० वडाको मतगणना सम्पन्न भएको छ । सो निर्वाचन क्षेत्रमा रहेका ३० वटा वडाहरु मध्ये गोदावरी नगरपालिकाका १० वडाहरुको मतगणना सम्पन्न भएको हो ।

गोदावरीका १० वडाको कुल २५ हजार ६३४ मतमध्ये सबै भन्दा बढी रास्वपाका उम्मेदवारले प्राप्त गरेका छन । रास्वपाका उम्मेदवार खेमराज कोइरालाले १२ हजार ९९६ मत प्राप्त गरेका छन । दोस्रोमा रहेका नेपाली कांग्रेसका उम्मेदवार गोरख बहादुर बिष्ट (आनन्द) ले ४ हजार ६१० मत प्राप्त गरेका छन ।

प्रतिष्पर्धीका रुपमा रहेका कांग्रेसका बिष्ट रास्वपाका उम्मेदवार कोईराला भन्दा करिब तेब्बर मतले पछि परेका छन् । त्यसबाहेक नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले ३ हजार ७७० मत प्राप्त गरी तेस्रो स्थानमा रहदाँ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार हरिराम चौधरी (उत्सव) ले १ हजार ५२७ मत प्राप्त गरेका छन ।
कैलाली क्षेत्र नं. ४ मा गोदावरी नगरपालिकाका १२ वडा सहित गौरीगंगा नगरपालिकाका ११ वडा, चुरे गाउँपालिकाका ६ वडा र मोहन्याल गाउँपालिकाको वडा नं. ५ रहेका छन ।


















