अत्तरिया – आज प्रतिनिधि सभा सदस्य छनोटनका लागि निर्वाचन हुँदै छ । मतदाताले प्रत्यक्ष र समानुपातीक उम्मेदवार छनोटका लागि आज बिहान ७ बजे देखि साँझ ५ बजे सम्म मतदान गर्दै छन । सुदूरपश्चिम प्रदेशमा पनि १६ वटै निर्वाचन क्षेत्रमा बिहीबार मतदान हुँदै छ । प्रदेशभरिका १ हजार १ सय ७६ मतदान स्थल र २ हजार १ सय ९९ मतदान केन्द्रबाट १७ लाख १६ हजार ६ सय ६० मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दै छन् ।
तथ्यांकअनुसार पुरुष मतदाता ८ लाख ५२ हजार २१९ रहेका छन् भने महिला मतदाता संख्या ८ लाख ६४ हजार ४२३ पुगेको छ । अन्य मतदाता १८ जना रहेका छन् । महिला मतदाता पुरुषभन्दा १२ हजार २०४ ले बढी छन् । जिल्लागत रूपमा सबैभन्दा बढी मतदाता कैलालीमा रहेका छन् । कैलालीमा ५ प्रतिनिधि सभा क्षेत्र अन्तर्गत ५ लाख ५१ हजार ५२ मतदाता रहेका छन् ।

यहाँ २३७ मतदान स्थल र ६४१ मतदान केन्द्र निर्धारण गरिएको छ । त्यस्तै कञ्चनपुरमा ३ लाख १४ हजार ३८५ मतदाता रहेका छन् भने अछाममा १ लाख ६५ हजार ३३७ मतदाता छन् । बैतडीमा १ लाख ५६ हजार ३७२, डोटीमा १ लाख २८ हजार ३९९, बझाङमा १ लाख २६ हजार ९०३ मतदाता रहेका छन् । डडेलधुरामा ९३ हजार ४०३, दार्चुलामा ९२ हजार ९४८ र बाजुरामा ८७ हजार ८६१ मतदाता रहेका छन् ।
सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका अनुसार मतदान कार्यका लागि आवश्यक तयारी सकिएको छ । कार्यालयका प्रमुख प्रेमराज भट्टले प्रदेशका सबै मतदान केन्द्रमा मतदान अधिकृत, कर्मचारी, मतपत्र र मतपेटिका लगायतका सामग्री सुरक्षित रूपमा पुगिसकेको जानकारी दिए । सुरक्षा संवेदनशीलताका हिसाबले मतदान स्थल र केन्द्रहरूलाई वर्गीकरण गरिएको छ । जसअनुसार ४८१ मतदान स्थल र ९८५ मतदान केन्द्रलाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ भने ३९५ मतदान स्थललाई ’संवेदनशील’ मानिएको छ । सुरक्षा व्यवस्था कडा पारिएको निर्वाचन कार्यालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले पनि सबै क्षेत्रमा सुरक्षा प्रबन्ध दुरुस्त बनाइएको जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) पदमबहादुर विष्टले केन्द्रीय सुरक्षा योजनाअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना संयुक्त रूपमा परिचालन भएको जानकारी दिए । उनकाअनुसार प्रदेशका सबै मतदान स्थलको सुरक्षा संवेदनशीलता विश्लेषण गर्दै सोही अनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

एसएसपी विष्टले निर्वाचन सुरक्षाका लागि प्रदेशभर सात हजार ९८ जना प्रहरी परिचालन गरिएको बताए । उनकाअनुसार १३ हजार ६४७ जना निर्वाचन प्रहरी पनि सहयोगीका रूपमा खटिएका छन् । सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी अत्तरियाका निमित्त प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) दिगविजय सुवेदीले पनि चुनावी सुरक्षाका लागि सबै क्षेत्रमा सशस्त्र प्रहरी परिचालन भईसकेको बताए । उनकाअनुसार प्रदेश भर पाँच हजार बढि सशस्त्र प्रहरी परिचालन गरिएको छ । नेपाली सेनाको सुदूरपश्चिम पृतनाले पनि चुनावी सुरक्षाका लागि सबै क्षेत्रमा सेना परिचालन भइसकेको जनाएको छ ।
कैलाली ४ मा पनि तयारी पुरा
कैलाली क्षेत्र नम्बर ४ मा निर्वाचनको तयारी पुरा भएको छ । निर्वाचन अधिकृत हरि प्रसाद आचार्यले निर्वाचन केन्द्रमा मतपत्र, मतदानका लागि आवश्यक सामाग्री पुगाउने, निर्वाचन केन्द्र निर्माण गर्ने लगायतका काम सकिएको बताए ।
उनले बिहीबार बिहान ७ बजेदेखि मतदान गर्नको लागि सबै तयारी पुरा गरिएको बताए । उनले यस क्षेत्रमा दुर्गम क्षेत्र पनि भएकाले मतपेटिका आउन समय लाग्ने आकलन गरिएको बताउँदै मतपेटिका आएपछि सर्वदलीय बैठक बसेर मतगणना गरिने बताए । उनले मतगणनाका लागि पनि आवश्यक तयारी भइरहेको बताए । उनले मतगणना स्थलमा तार बार र सिसिटिभी क्यामेरा जडान गरिने बताए ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा १ लाख १५ हजार १४३ मतदाता संख्या रहेको छ । यस क्षेत्रमा ५७ मतदान स्थल र १३६ मतदान केन्द्र रहेका छन । कैलाली क्षेत्र नम्बर ४ बाट एक जना स्वतन्त्र सहित १६ जना चुनावी मैदानमा छन ।
२०७९ सालको निर्वाचनमा १ लाख १० हजार ४५३ जना मतदाता रहेकोमा ६४ हजार १५८ जनाले मतदान गरेका थिए । यस पटक ४ हजार ६९० मतदाता थपिएका छन् ।


















