अत्तरिया – कैलालीको अत्तरियामा रहेको पुष्पाञ्जली आवासीय माध्यमिक विद्यालयको वार्षिकोत्सव समारोह सुरु भएको छ । शुक्रबार बाट विद्यालयको ३७औ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सुरु भएको हो ।
शुक्रबार एक औपचारीक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रयाग राज जोशीले समारोहको सुभारम्भ गरे । दुई दिन सम्म सञ्चालन हुने सो समारोहमा पहिलो दिन कक्षा नर्सरी देखी कक्षा ४ सम्मका विद्यार्थीहरुलाई सहभागि गराईएको विद्यालयका सञ्चालक यम प्रसाद भण्डारीले जानकारी दिए । उनले शनिबार कक्षा ५ देखी १० सम्मका विद्यार्थीहरु सहभागी रहने बताए ।


उनले विद्यालयमा विद्यार्थीको चापलाई मध्यनगर गर्दै वार्षिकोत्सव समारोह दुई दिन आयोजना गर्न लागिएको बताए ।
उनका अनुसार सो विद्यालयमा करिब साढे ११ सय विद्यार्थीहरु रहेका छन । वार्षिकोत्सवलाई विद्यार्थीहरुको पर्वका रुपमा लिईने र सो दिन विद्यार्थीहरुका प्रतिभा प्रस्फुटन हुने बताउदै उनले एकैदिन सबै विद्यार्थीहरुले अवसर नपाउने देखेपछि दुई दिन कार्यक्रम आयोजना गरिएको बताए ।

पहिलो दिनको कार्यक्रममा विद्यालयमा कक्षा ४ सम्म अध्ययनरत विद्यार्थीहरुले विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । वार्षिकोत्सवको पुर्वसन्ध्यामा विद्यालयले अभिभावकहरुलाई पनि रमाईलो खेलहरु खेलाएको थियो । उक्त खेलहरुमा प्रथम, द्धितिय र तृतिय हुने अभिभावकहरुलाई पनि पुरस्कृत गरिएको विद्यालयका सञ्चालक भण्डारीले बताए ।
कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रयागराज जोशीले वार्षिकोत्सव भने विद्यार्थी, अभिभावक र विद्यालयबिच आपसी सद्भाव साटासाट गर्ने दिन रहेको बताए । उनले विद्यालय विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने र व्यक्तित्व विकास गर्ने प्रमुख स्थल भएको बताए । उनले विद्यायमा बालबालिकाहरुले सामाजिक सद्भाव, आत्मविस्वास, रचनात्मक क्षमता विकास गर्ने अवसर प्राप्त गर्ने बताए । उनले विद्यालयले ३७औ वर्षमा आईपुग्दा सम्म गरेको मेहनतको प्रसंसा गरे ।

















