शेर बहादुर ऐर/धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका– ५ हसनपुरस्थित ऐश्वर्य विद्या निकेतनले आफ्नो शैक्षिक परम्परालाई निरन्तरता दिँदै उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा आर्थिक सहयोग गरेको छ । शुक्रबार एक विशेष समारोह आयोजना गरी कक्षा १२ विज्ञान संकायमा २०८२ सालको परीक्षामा ३.८५ जिपिए ल्याई उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी आर्यन दाहाललाई नगद सहयोग प्रदान गरेको हो ।
विद्यालयले उनलाई ६० हजार दुई सय रुपैयाँ सहयोग गर्दै उच्च शिक्षाको यात्रामा थप ऊर्जा र हौसला प्रदान गरेको जनाएको छ । आर्यन दाहालले शैक्षिक क्षेत्रमा मात्र नभई प्रदेशस्तरीय प्रतिस्पर्धामा समेत उल्लेखनीय सफलता हासिल गरेका छन् । उनले सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रदान गरिने एमबीबीएस अध्ययन छात्रवृत्तिमा प्रथम स्थान हासिल गर्दै विद्यालय र जिल्लाकै गरिमा बढाएका छन् ।


सीमित स्रोत–साधनका बाबजुद कठोर परिश्रम र दृढ इच्छाशक्तिका बलमा उनले यो सफलता प्राप्त गरेका हुन् ।
हाल आर्यन काठमाडौंस्थित इन्स्टिच्युट अफ मेडिसिनमा एमबीबीएस अध्ययनका लागि भर्ना प्रक्रियामा रहेका छन् । उनी महाराजगञ्ज मेडिकल क्याम्पसमा अध्ययन गर्ने तयारीमा छन् । प्रदेश सरकारको छात्रवृत्ति अन्तर्गत अध्ययनका लागि छनोट भएपनि भर्ना शुल्क, बसोबास, पाठ्यसामग्री तथा अन्य प्रारम्भिक व्यवस्थापनका लागि तत्कालै ठूलो रकम आवश्यक पर्ने भएकाले आर्थिक चुनौती सामना गर्नुपरेको छ ।
विद्यालयका प्रधानाध्यापक सञ्जय पन्तका अनुसार कलेजको शुल्क प्रदेश सरकारबाट किस्ताबन्दीमा उपलब्ध हुने भए पनि प्रारम्भिक खर्च व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ । आर्यनको पारिवारिक अवस्था अत्यन्त दयनीय रहेको छ । उनका बुबा १४ वर्षअघि रोजगारीको सिलसिलामा भारत गएका थिए र त्यसयता बेपत्ता रहेका छन् । परिवारको सम्पूर्ण जिम्मेवारी उनकी आमामाथि आएको छ ।
उनकी आमाले दैनिक मजदुरी गर्दै भाडामा बसोबास गरी छोराको अध्ययनलाई निरन्तरता दिएकी छन् । विभिन्न शैक्षिक संस्था र सहयोगी मनहरूको साथले आर्यनले अहिलेसम्मको अध्ययन पूरा गर्न सफल भएका हुन् । एश्वर्य विद्या निकेतनले पनि कक्षा ११ र १२ मा आर्यनलाई पूर्ण छात्रवृत्तिमा अध्ययन गराएको थियो ।
विद्यालय प्रशासनका अनुसार आर्यन अनुशासित, मेहनती र लक्ष्यप्रति प्रतिबद्ध विद्यार्थीका रूपमा परिचित छन् । पन्तले भने, ‘आर्यनजस्ता विद्यार्थी हाम्रो संस्थाको पहिचान हुन् । उनको सफलता सम्पूर्ण विद्यालय परिवारका लागि गर्वको विषय हो । आर्थिक अभावका कारण उनको भविष्य प्रभावित नहोस् भन्ने उद्देश्यले हामीले सानो सहयोग गरेका हौं ।’



















