खाेज्नुहाेस

कैलालीको चुरे फेदमा अवैध उत्खनन्, ५ जना नियन्त्रणमा

Image

धनगढी – कैलालीको चुरे फेदमा अवैध रूपमा ढुंगा, गिट्टी र माटो उत्खनन् गरिरहेको अवस्थामा वन कार्यालयको टोलीले पाँच जनालाई सवारीसाधनसहित पक्राउ गरेको छ । चुरे गाउँपालिका–४ मा पर्ने अधेरी खोलामा भ्याकु लोडर प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा गस्तीमा गएको वन कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

navjiwan hospital

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–६ बनबेडाका २८ वर्षीय ट्याक्टर चालक रमेश चौधरी, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाका २८ वर्षीय टिप्पर चालक कनैया राना, बर्दियाको बासगढी नगरपालिका–६ दमौली बस्ने २५ वर्षीय टिप्पर चालक वीरजन थारु, शुक्लाफाँटा–४ असैनाका टिप्पर चालक कृष्ण राना तथा धनगढी उपमहानगरपालिका–७ बेलीका २७ वर्षीय भ्याकु लोडर चालक शिवचरण चौधरी रहेका छन् ।

attariya hospital

अवैध उत्खनन्मा प्रयोग गरिएको एउटा भ्याकु लोडर, तीन वटा टिप्पर र एउटा ट्याक्टर समेत बरामद गरिएको छ । पक्राउ परेका पाँचै जना डिभिजन वन कार्यालय कैलालीको हिरासतमा छन् । डिभिजन वन कार्यालय कैलालीका प्रमुख डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले चुरे क्षेत्रमा अवैध उत्खनन् तथा काठ तस्करी भइरहेको सूचनाका आधारमा गस्ती गर्दा उनीहरूलाई पक्राउ गरिएको बताए । वातावरणीय परीक्षण नगरिएका क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार निषेध रहेको उनले बताए ।

वन ऐनअनुसार यसरी अवैध उत्खनन् गरेमा बिगो बमोजिम कैद, जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको उल्लेख गर्दै ठाकुरले कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने जानकारी दिए । ‘अवैध उत्खननसँगै त्यस क्षेत्रमा वन फँडानी गरी तस्करीसमेत भइरहेको पाइएको छ,’ वन अधिकृत ठाकुरले भने, ‘केही दिनअघि सोही क्षेत्रबाट १२ वटा खयरका रूख काटिएको अवस्थामा भेटिएको थियो भने हालै एउटा सालको रूख समेत काटेर लगिएको पाइएको छ ।’