अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ४ बन्दगडामा रहेको मष्टाधाममा शिवरात्री मेला लाग्ने भएको छ । माघ २३ गते मात्रै प्राणप्रतिष्ठा एवम् रुद्री पुजा गरिएको मष्टाधाममा आईतबार शिवरात्री मेला लाग्ने भएको हो ।

मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश जिमि साउँदले मष्टाधाममा प्राणप्रतिष्ठा गरी पुजाको कार्य सुरु गरिएसँगै पहिलो पटक शिवरात्री मेला आयोजना गर्न लागिएको बताए । उनले शिवरात्री पर्वको अवसरमा मेलाको आयोजना गर्न लागिएको बताए । उनले धाममा रहेको शिवस्थान र शिवलिङ्गमा पर्कलो चढाउने कार्यका साथै मेलामा देउडा समेत खेलिने बताए ।

‘पुजा सुरु भएसँगै पहिलो पटक हामीले मष्टाधाममा शिवरात्री पर्वको अवसरमा मेला लगाउन थालेका छौँ’ उनले भने ‘धाममा रहेको शिवस्थानमा पर्कलो चढाउने र त्यसपछि देउडाको कार्यक्रम राखिएको छ ।’ उनले शिवस्थानमा पर्कलो चढाउने समय दिउँसो १ बजेदेखी रहेको र त्यसपछि देउडा खेल्ने कार्यक्रम रहेको स्पष्ट पारे ।





















