अत्तरिया – फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारहरू अहिले चुनावी मैदानमा छन् । माघ ६ गते चुनाव लड्न उम्मेदवारी दिएका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित भइसकेको छ । जसअनुसार कैलाली क्षेत्र नम्बर ४ मा १६ जना चुनाव लड्ने पक्का पक्की भएको छ । जसमा १५ जना राजनीतिक दल सम्बन्ध र १ जना स्वतन्त्र उम्मेदवार छन् ।
यसबिच चुनावी मैदानमा होमिएका उम्मेदवारहरू के कस्ता छन् भन्ने जनचासो पनि छ । जसमध्ये उनीहरूको कति शैक्षिक योग्यता छ भन्ने पनि आम सर्वसाधारणको चासोको विषय हो ।

उम्मेदवारी दर्ताका क्रममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरूले बुझाएको विवरण अनुसार नेकपा एमालेबाट चुनाव लडिरहेका लेखराज भट्टको शैक्षिक योग्यता स्नातक रहेको छ । उनी यो क्षेत्रबाट पाँचौँ पटक उम्मेदवार बनेका छन् । ६६ वर्षीय भट्ट गोदावरी नगरपालिका – १ निवासी हुन ।
पहिलो पटक नेपाली कांग्रेसबाट चुनाव लडिरहेको गोरख बहादुर विष्ट (आनन्द) को शैक्षिक योग्यता पनि स्नातक रहेको छ । ५३ वर्षीय विष्ट डोटीको जोरायल गाउँपालिका –५ धुपारी निवासी हुन ।

नेपाल कम्युनिस्ट पार्टीबाट चुनाव लडिरहेका हरि राम चौधरीको शैक्षिक योग्यता प्रमाण पत्र तह रहेको छ । ४७ वर्षीय चौधरी गौरीगंगा नगरपालिका –४ निवासी हुन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव लडिरहेका खेम राज कोइरालाले स्नातकोत्तर गरेका छन् । ४८ वर्षीय कोइराला गौरीगंगा नगरपालिका –१ मंगलपुर निवासी हुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चुनाव लडिरहेका कमल रजवारले पनि स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् । ३१ वर्षीय रजवार चुरे गाउँपालिका –१ निवासी हुन ।
यस्तै नेपाल मजदुर किसान पार्टीबाट चुनाव लडिरहेकी अमृता भुलको शैक्षिक योग्यता साक्षर, राष्ट्रिय जनमोर्चाका हेम राज भट्टको शैक्षिक योग्यता स्नातक, नेपाल मानवता पार्टीका यज्ञ बहादुर टमोटाको शैक्षिक योग्यता ८ पास, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का मोहन देव मिश्रको शैक्षिक योग्यता एमए र नेपाल रिपब्लिक नेपाल पार्टीका गोपीलाल चौधरीको शैक्षिक योग्यता साक्षर रहेको छ ।
यसैबिच श्रम संस्कृति पार्टीका भीम बहादुर थापा मगरको शैक्षिक योग्यता सामान्य, मितेरी पार्टी नेपालका दिनेश कुमार मल्लको शैक्षिक योग्यता एसएलसी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का भक्त बहादुर शाहीको शैक्षिक योग्यता एसएलसी, उज्यालो नेपाल पार्टीका सुभाष कुँवरको शैक्षिक योग्यता स्नातक, नागरिक उन्मुक्ति पार्टी नेपालका धन बहादुर सुनारको शैक्षिक योग्यता स्नातक र स्वतन्त्र उम्मेदवार छत्र बहादुर भट्ट खत्रीको शैक्षिक योग्यता बिकम रहेको छ ।

















