खाेज्नुहाेस

छठका लागि सिँगारिँदै मोहना घाट 

Image

धनगढी  – कैलालीको धनगढीस्थित मोहना नदी किनारमा छठ पर्वको तयारी तीव्र पारिएको छ। छठ पूजालाई लक्षित गर्दै नदी किनारको सरसफाइ, सजावट तथा पूजास्थल व्यवस्थापनको काम भइरहेकाे हाे ।

छठ पूजा सेवा समितिका अध्यक्ष सन्तोष मण्डलका अनुसार यस वर्ष पर्व व्यवस्थापनका लागि करिब २२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। स्थानीय सरकारबाट सहयोग प्राप्त भए पनि अन्य सरकारी तथा गैरसरकारी निकायबाट अपेक्षित सहयोग नपाएको समितिको गुनासो छ। भक्तजन तथा श्रद्धालुबाट प्राप्त सहयोगकै भरमा व्यवस्थापनको काम भइरहेको मण्डलले बताएका छन्।

attariya hospital

यस वर्ष पनि मोहना घाटमा धार्मिक अनुष्ठानसँगै सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। शनिबार डान्डिया नृत्यसहितका कार्यक्रम र आइतबार विशेष सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। भजनकीर्तन, नृत्य तथा विभिन्न धार्मिक झाँकीसमेत प्रस्तुत गरिनेछ।

navjiwan hospital

धनगढीको मोहना घाटमा छठ पर्व मनाउने परम्परा सुरु भएको १४ वर्षभन्दा बढी भइसकेको छ। सुरुका वर्षमा पाँचवटा पालबाट सुरु गरिएको पूजा अहिले विस्तार भएर सयौँ पूजास्थलसम्म पुगेको छ। पछिल्ला वर्षमा यहाँ करिब २६० पूजाकक्ष निर्माण हुँदै आएका छन् भने तीन सयभन्दा बढी परिवार छठको व्रतमा सहभागी हुने गरेका छन्। पर्व अवलोकन गर्न करिब एक लाखसम्म श्रद्धालु तथा दर्शनार्थी पुग्ने गरेको आयोजकको भनाइ छ।

छठ पर्वमा व्रतालुहरू कठोर निर्जल व्रत बसेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने गर्छन्। अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि सुरु हुने मुख्य पूजाविधि भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सम्पन्न हुन्छ।

विशेषगरी तराई–मधेस क्षेत्रमा मनाइने छठ पर्व पछिल्लो समय समुदायको सीमाभन्दा बाहिर फैलिँदै गएको छ। धनगढीको मोहना घाटमा पनि विभिन्न समुदायका मानिसहरू सहभागी हुने गरेका छन्। सुदूरपश्चिमका विभिन्न जिल्लासँगै सीमावर्ती भारतीय क्षेत्रबाट समेत श्रद्धालुहरू पूजाका लागि पुग्ने गरेका छन्।

पारिवारिक सुख, शान्ति, समृद्धि, सन्तानको दीर्घायु तथा आरोग्यको कामना गर्दै मनाइने छठ पर्वले धार्मिक आस्थासँगै सामाजिक सद्भाव र सामुदायिक एकताको सन्देशसमेत दिँदै आएको छ।