अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गरेका हरि रेग्मीको उम्मेदवारी खारेज गर्न पार्टी सभापति रबी लामिछानेले पत्र पठाएका छन् । बिहान नै उम्मेदवारी गर्दा गरेका रेग्मीको ठाउँमा खेमराज कोइरालालाई आधिकारिक उम्मेदवार दर्ता गरिदिन लामिछानेले पत्र पठाएका हुन ।
यसअघि रेग्मीले पार्टीको आधिकारिक टिकट लिएर नै उम्मेदवारी दर्ता गरेका थिए । तर, पछि निर्वाचन क्षेत्र बाहिरबाट उम्मेदवार ल्याइएको भन्दै विरोध भएको थियो ।


त्यसपछि मंगलबार साँझ मात्रै उनको नाम रद्द गर्न सभापति लामिछानेले पत्र पठाएका हुन ।
कैलाली क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयले भने रेग्मीको उम्मेदवारी दर्ता भइसकेकाले तत्काल खारेज गर्न नमिल्ने बताएको छ । निर्वाचन अधिकृत हरि प्रसाद आचार्यले पत्र अनुसार खेमराज कोइरालाको पनि उम्मेदवारी गर्दा गर्न मिल्ने भए पनि पहिले दर्ता भएको हटाउन नमिल्ने बताए ।
उनले अहिले खेमराज कोइरालाको उम्मेदवारी पनि दर्ता भइरहेको बताउँदै दुवै जनाको नाम माथि पठाइने बताए । ‘हामीले दुवै जनाको नाम माथि पठाउँन्छौ । माथिबाट निर्णय जे आउँछ, त्यही अनुसार कायम हुन्छ’ उनले भने ।

















