अत्तरिया – अघिल्लो निर्वाचन परिणाम अनुसार कैलाली क्षेत्र नम्बर ४ मा प्रमुख शक्तिका रूपमा रहेका ४ दल मध्ये २ दलले आफ्ना उम्मेदवारको टुङ्गो लगाएका छन् । २०७९ को निर्वाचनमा समानुपातिक र प्रत्यक्ष निर्वाचन अनुसार हाल यस क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रमुख शक्तिका रूपमा रहेका थिए ।
जसमध्ये फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमाले र नेकपाले उम्मेदवारको टुङ्गो लगाउँदा कांग्रेस र रास्वपाले भने अझै उम्मेदवार चयन गर्न सकेका छैनन् । यद्यपि दुवै दलबाट आकाक्षीको नाम भने सार्वजनिक भइसकेको छ । अघिल्लो निर्वाचनमा समानुपातिकमा पहिलो र प्रत्यक्ष निर्वाचनमा दोस्रो बनेको एमालेले यस पटक पनि पुरानै उम्मेदवार लेखराज भट्टलाई निरन्तरता दिएको छ ।


उनी अघिल्लो निर्वाचनमा कांग्रेसका वीर बहादुर बलायर सँग पराजित भएका थिए । यद्यपि सो निर्वाचनमा कांग्रेसले तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादी सँग गठबन्धन गरेर चुनाव लडेको थियो । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष तर्फ उम्मेदवार नउठाएका तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादी समानुपातिक मतका आधारमा क्रमशः चौथो र छैटौँ शक्ति बनेका थिए भने रास्वपा पाँचौँ शक्ति बनेको थियो । नागरिक उन्मुक्ति पार्टी भने तेस्रो दल बनेको थियो । अहिले नागरिक उमुक्ति पाटी, माओवादी केन्द्र र एकीकृत समाजवादी बिच एकीकरण भएर नेकपा बनेको छ । नेकपाले अहिले हरिराम चौधरीलाई उम्मेदवार बनाएको छ ।
हाल पनि यस क्षेत्रमा प्रमुख शक्तिका रूपमा रहेका २ दल एमाले र नेकपाले उम्मेदवार टुङ्गो लगाउँदा कांग्रेस र रास्वपाले कसलाई उम्मेदवार बनाउने भन्ने चासो बढेको छ । कांग्रेसबाट यस क्षेत्रबाट चुनाव लड्न ७ जना आकाक्षी रहेका छन् । जसमा यसअघिका प्रतिनिधि सभा सदस्य वीर बहादुर बलायर सहित विजय कुँवर, लोकराज पाण्डेय ‘आगो’, दिनेशराज जोशी, नैन सिंह महर, टेक राज जोशी र युवा प्रतिनिधिका रूपमा भुवन महरा रहेका छन् । कांग्रेसको हालै सम्पन्न विशेष महाधिवेशनबाट उत्पन्न पार्टी भित्रको आन्तरिक विवादका कारण तत्काल उम्मेदवारको टुङ्गो लाग्ने अवस्था देखिएको छैन ।
यस्तै रास्वपाबाट कैलाली ४ मा खेमराज कोइराला, दिल्लीराज जोशी, मिनबहादुर बोहरा, शिवराज पन्त ९पूर्व कर्णेल०, हेमराज भट्ट, सत्यराज रावलको नाम सिफारिस गरिएको छ ।
यस क्षेत्रमा पाँचौँ शक्तिको रूपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले पनि उम्मेदवार टुङ्गो लगाएको छ । कैलाली ४ बाट कमल बम ९रजवार० लाई उम्मेदवार बनाउने राप्रपाले निर्णय गरेको छ ।
निर्वाचन आयोगको कार्यपालिका अनुसार माघ ६ गते भित्र प्रत्यक्ष तर्फको उम्मेदवारीका लागि मनोनयन दर्ता गरिसक्नु पर्ने छ । मनोनयन दर्ताको समय नजिकिँदै गर्दा पनि उम्मेदवारको टुङ्गो लाग्न बाँकी हुँदा यस क्षेत्रका कांग्रेस र रास्वपाका नेता कार्यकर्ता अलमलमा देखिएका छन् । यद्यपि कांग्रेसको विवादका कारण निर्वाचनको मनोनयनको मिति सार्ने माग गर्दै अदालतमा मुद्दा परेकाले अदालतको निर्णय के आउने भन्ने पनि चासोको विषय रहेको छ ।

















