खाेज्नुहाेस

स्याउलेमा करिब १५ सयलाई खिचडी खुवाईने

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका वडा नम्बर– ८ स्याउले बजारमा करिब १ हजार ५०० जनालाई खिचडी खुवाईने भएको छ । स्याउले बजार व्यवस्थापन समितिले यही माघ ३ गते उत्तरायणी पर्वको अवसरमा खिचडी खुवाउने कार्यक्रम राखेको हो ।

सुदूरपश्चिममै पहिलो पटक उत्तरायणी पर्वमा विभिन्न कार्यक्रम आयोजना गरीने र सो कार्यक्रममा सहभागिलाई खिचडी खुवाईने समितिका अध्यक्ष गोपाल देउवाले जानकारी दिए । उनले सो कार्यक्रममा १ हजार ५०० भन्दा बढी मानिसहरुले अवलोकन गर्ने उद्देश्य राखेको बताए । उनले प्रदेशमै पहिलो पटक स्याउलेमा रहेको विश्वनाथ महादेव मन्दिरमा उत्तरायणी पर्वको अवसरमा कार्यक्रम आयोजना गर्न लागिएको बताए ।

attariya hospital
navjiwan hospital

‘हामीले पहिलो पटक यस क्षेत्रमा उत्तरायणी पर्व मनाउने भनेर लागेका छौ, सो अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्नेछौ’ उनले भने ‘यहाँका कला, संस्कृतिहरुको जगेर्ना गर्ने उद्देश्यले हामीले पर्वको अवसरमा खिचडी खुवाउने कार्यक्रम राखेका छौ भने अन्य विभिन्न क्रियाकलापहरु पनि गरिनेछन् ।’ उनले खिचडी सँगै कार्यक्रममा बटुक, तरुल, सखरखण्ड, सेल, पुरी लगायतका खानेकुराहरु पनि दिईने बताए । जसका लागि विभिन्न सहयोगीदाताहरुले सहयोग गरेको उनको भनाई छ ।

उनले पर्वका अवसरमा खिचडी खुवाउने मात्रै नभई देउडा खेलाईने तथा विभिन्न संघसंस्थाहरुलाई सहयोग गरिने कार्यक्रम रहेको बताए । उनका अनुसार पर्वका अवसरमा कर्णाली र सुदूरपश्चिमका चर्चित देउडियाहरुलाई बोलाएर देउडा खेलाईनेछ । जसमा सुदूरपश्चिमबाट कपुरराम गिरी, हुकुम देउवा, गणेश राज पाण्डेय र गंगा खत्री रहेका छन भने कर्णाली प्रदेशबाट पन्त बुढा, तिर्था खत्री र बिष्णु कान्त आचार्य रहेको अध्यक्ष देउवाले बताए । उनले कलाकारहरुको संयोजकको जिम्मेवारी भने देउडा संस्कृति संरक्षण प्रतिष्ठानका परिकल्पनाकार ज्ञानेन्द्र अविरल क्षेत्रीलाई दिईएको बताए ।

सुदूरपश्चिमका कला, साहित्य तथा संस्कृतिहरुको जर्गेना गर्ने उद्देश्यले स्याउले बजार व्यवस्थापन समितिले विभिन्न कार्यक्रमहरु गर्दै आएको अध्यक्ष देउवाले बताए । उनले यसअघि समितिले स्याउले बजारमा गौराको कार्यक्रम आयोजना गरेको र सो कार्यक्रम निरन्तर रुपमा चलिरहेको समेत बताए । उनले उत्तरायणी पर्वलाई पनि बजार व्यवस्थापन समितिले निरन्तर रुपमा मनाउने गरी सुरुवात गर्ने बताए ।

सुदूरपश्चिमका पहाडी जिल्लामा प्रत्येक वर्ष माघ महिनाको ३ गते उत्तरायणी पर्व मनाईने गरिन्छ । उत्तरायणीको दिन मानिसहरु रमाउँदै खानाका परिकारहरु मासको बटुक, मासबाट बनेको प्रख्यात दाल डुुप्का, भात, सेलरोटी पकाउँदै सबै एकै ठाउँमा बसेर खाना खाने तथा आगन्तुक पाहुनालाई पनि खुवाउने चलन रहेको छ । यो पर्वलाई मिलन तथा मित्रताको दिनका रूपमा पनि लिने गरिन्छ ।