अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ११ मा रहेको गोदावरी कृषि विकास सहकारी संस्थाको १४ औँ साधारण सभा सम्पन्न भएको छ । शनिवार सहकारीका अध्यक्ष कृष्ण विकको अध्यक्षमा सहकारीको साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा सहकारीका अध्यक्ष विकले सहकारीको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष राधा विक र व्यवस्थापक गणेश बहादुर विकले राखेका थिए ।
आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै व्यवस्थापक विकले संस्थाले आर्थिक वर्ष २०८१÷०८२ मा १ करोड ५९ लाख ९७ हजार १४ रुपैयाँको कारोबार गरेको बताए । जसमा सहकारीले ९३ लाख १४ हजार ३ सय रुपैयाँ ऋण लगानी गरेको उनले बताए । सो अन्तरगत सहकारीले च्याउ खेती कार्यक्रम, भैँसी पालन कार्यक्रम, कागती खेती कार्यक्रम, खुर्सानी खेती कार्यक्रम सञ्चालन गरेको छ । जसमा ११ लाख १० हजार ६४० रुपैयाँ खर्च भएको व्यवस्थापक विकले बताए ।

प्रगति प्रतिवेदन पेस गर्दै अध्यक्ष कृष्ण विकले सहकारीले आर्थिक वर्ष २०८१÷०८२ मा बचत सङ्कलन, ऋण लगानी सँगै विभिन्न कृषिका कार्यक्रम गरिएको बताए । उनले कृषिका कार्यक्रम अन्तरगत एक समूह एक तरकारी खेतीमा ६६ जना सहभागी भएको बताए ।
यस्तै एक वर्षमा ३३३ गोठे मल खाल्डो सुधार गरिएको बताए । उनले यी लगायत अन्य कार्यक्रमलाई पनि आगामी वर्षका लागि निरन्तरता दिइएको बताए ।
उद्घाटन सत्रमा सहकारीका संस्थापक अध्यक्ष टेक विक, समन्वयन समितिका संयोजक शिव विक, कृषि विकास उपसमिति संयोजक कृष्ण विक लगायत अतिथिका रूपमा रहेका थिए । कार्यक्रमको सञ्चालन सहकारीका सचिव भीम विकले गरेका थिए ।
















