खाेज्नुहाेस

कैलाली – ४ मा प्रतिनिधि सभाका लागि रास्वपाबाट पूर्व महासेनानी पन्त आकाक्षी, अरू को को ? 

Image
तस्वीर – क्रमशः डिल्ली राज जोशी, शिवराज पन्त, दीपक ओझा
अत्तरिया – फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कसलाई उम्मेदवार बनाउने चासो बढेको छ । यस क्षेत्रमा पार्टीका गतिविधिलाई सक्रिय पारेको रास्वपाले अहिले सम्म औपचारिक रूपमा उम्मेदवार छनोटको घोषणा गरेको छैन । तर, कैलाली क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने आकाक्षीका रूपमा भने केही उम्मेदवारको चर्चा हुन थालेको छ ।
attariya hospital
कांग्रेस एमालेले यस क्षेत्रबाट पार्टीका बलिया उम्मेदवारलाई अघि सार्दा रास्वपाबाट पनि नेपाली सेनाबाट अवकाश प्राप्त महासेनानी शिवराज पन्तलाई अघि सार्ने चर्चा गर्न थालिएको छ । रास्वपाको केन्द्रीय संगठन विभाग प्रमुख समेत रहेका उनी वरिष्ठ सुरक्षा तथा रक्षा विज्ञ हुन ।
कैलालीको गोदावरी नगरपालिका – १ निवासी पन्तले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा त्रिभुवन विश्वविद्यालयमा एमफिल–पिएचडी अध्ययनरत छन् भने ४ विषयमा स्नातकोत्तर गरेका छन् । उनले राष्ट्रिय स्रोत रणनीतिमा नेशनल डिफेन्स युनिभर्सिटी, वासिङ्टन डी.सी. संयुक्त राज्य अमेरिकाबाट स्नातकोत्तर (एमएससी) र रक्षा अध्ययनमा किङ्स कलेज, लन्डन विश्वविद्यालय, संयुक्त अधिराज्यबाट स्नातकोत्तर (एमए) र रणनीतिक अध्ययनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर (एमए) गरेका छन् ।
यस्तै रणनीतिक व्यवस्थापन तथा नेतृत्वमा चार्टर्ड म्यानेजमेन्ट इन्स्टिच्युट लेभल–७ डिप्लोमा, राजनीति शास्त्र, अङ्ग्रेजी, समाजशास्त्र÷मानव शास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट बीए गरेका छन् ।
navjiwan hospital
गोरखा दक्षिण बाहु (चौथो श्रेणी), विदेश सेवा पदक (दुई पटक), संयुक्त राष्ट्रसङ्घ पदक, विपद् उद्धार तथा राहत सेवा पदक, प्रकृति संरक्षण पदकबाट सम्मानित भइसकेका उनी ४ महिना अघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए ।
उनले आफूले २८ वर्ष नेपाली सेनामा काम गरेर अवकाश पाए पनि थप राजनीतिबाट देशको लागि काम गर्न राजनीतिमा प्रवेश गरेको बताएका छन् ।
रास्वपाबाट कैलाली क्षेत्र नम्बर ४ बाट रास्वपा क्षेत्रीय सचिव सचिव समेत रहेका डिल्ली राज जोशी पनि आकाक्षीका  रूपमा रहेका छन् ।  पूर्व शिक्षक रहेका उनी हाल व्यवसायीक कृषि गर्दै आएका छन् भने अत्तरियामा रहेको कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष समेत हुन । अन्य थुप्रै संघसस्थामा आबद्ध उनी पनि रास्वपाको कैलाली क्षेत्र नम्बर ४ को प्रतिनिधि सभाको उम्मेदवारका रूपमा आकाक्षी रहेका छन् ।
यस्तै रास्वपाको गोदावरी नगर सभापति रहेका दीपक ओझा पनि युवा उम्मेदवारका रूपमा चर्चामा छन् । समाज सेवामा सक्रिय उनी सफल उद्यमीको रूपमा पनि चिनिन्छन् ।