खाेज्नुहाेस

सांसद चौधरी भन्छन – रास्वपा प्रवेश गरेको छैन, झुक्किएर मञ्चसम्म पुगे

Image

धनगढी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टीका पूर्वपदाधिकारीका साथै थरुहट/थारुवान अभियन्ताहरूबीच भएको समायोजन कार्यक्रममा देखिएका सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले आफू कुनै दलमा प्रवेश नगरेको बताएका छन् ।

navjiwan hospital

सोमबार राष्ट्रियसभा गृहमा भएको एकता समायोजन कार्यक्रममा चौधरी मञ्चमै देखिएका थिए । तर, नागरिक उन्मुक्ति दलबाट सांसदमा विजयी चौधरीले आफू कुनै पनि दलमा प्रवेश नगरेको बताए ।

attariya hospital

‘आफ्नो निर्वाचन क्षेत्रको सडक र पुलका योजना निर्माणका लागि मन्त्री कुलमान घिसिङलाई पहिलेदेखि भेट्न खोजिरहेको थिएँ,’ सांसद चौधरीले भने, ‘हिजो रास्वपाको कार्यक्रममा पुगेका साथीहरूले कुलमान कार्यक्रममा आउने जानकारी दिएपछि उहाँलाई नै भेट्न म पनि राष्ट्रियसभा गृहमा पुगेको थिए । तर, रास्वपा प्रवेशको सूचीमा नाम राखिदिए । म पनि झुक्किएर मञ्चसम्म पुगेको थिएँ । तर, म रास्वपमा प्रवेश गरेको छैन ।’

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले केही समयअघि नेपाली कम्युनिस्ट पार्टीसँग एकता गरेकी थिइन् । उक्त एकताबारे पनि आफूलाई कुनै जानकारी नरहेको सांसद चौधरीले बताए । चौधरी नागरिक उन्मुक्ति पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (२) मा विजयी भएका थिए । उनीसँग सुदूरपश्चिम प्रदेशसभामा नाउपाका सात सांसद छन् ।