अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको बालकोषमा विकासका लागि युवा ऐक्यबद्धता (यार्ड) ले १ लाख २३ हजार रुपैयाँ सहयोग गरेको छ । यार्डले Kindernothlife (KNH) को सहयोग तथा साझेदारीमा सञ्चालित बाल अधिकार संरक्षणका लागि महिला सशक्तीकरण परियोजना अन्तर्गत नगरपालिकाको बालकोषमा रकम सहयोग गरेको हो ।

बिहीबार उक्त रकम नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टलाई यार्डकी कोषाध्यक्ष सुमित्रा विष्टले हस्तान्तरण गरेकी थिइन । कार्यक्रममा नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया, यार्ड परियोजनाका कर्मचारी लगायतको सहभागिता रहेको थियो । रकम हस्तान्तरण गर्नका लागि महिला बालबालिका शाखा प्रमुख गोदावरी खत्री समन्वय गरेकी थिइन ।

सहयोग रकम नगरपालिकाको बालकोष स्थापना तथा सञ्चालन कार्यविधि २०८२ को अधीनमा रही विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाहरूको संरक्षण तथा सहयोगका लागि खर्च गरिने यार्डका कार्यक्रम व्यवस्थापक इन्द्र टमटाले बताए ।


















