धनगढी – आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि धनगढीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका दुई सिटका लागि हुने निर्वाचनलाई लक्षित गर्दै मुख्य निर्वाचन अधिकृतको सुदूरपश्चिम प्रदेश कार्यालय स्थापना गरिएको हो ।

कार्यालयको संयुक्त रूपमा कैलाली जिल्ला अदालतका जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत भुवन सिंह थापा र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले उद्घाटन गरेका छन । कार्यालय उद्घाटनसँगै अब राष्ट्रियसभा निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रमहरू औपचारिक रूपमा अघि बढ्ने जनाइएको छ ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार कार्यालय स्थापना भएसँगै निर्वाचनको कार्यतालिका कार्यान्वयन, दलहरूबीचको समन्वय, उम्मेदवार मनोनयन, मतदाता नामावली व्यवस्थापन लगायतका प्रक्रिया तीव्र बनाइनेछ । उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्न सबै आवश्यक तयारी भइरहेको बताए । निर्वाचन कार्यतालिका अनुसार पुस १९ गते राष्ट्रियसभा निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरिने छ भने पुस २३ गते राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको मनोनयन दर्ता गरिने छ । त्यसपछि उम्मेदवारको नामावली प्रकाशन, दाबी–विरोध तथा अन्तिम नामावली प्रकाशन लगायतका प्रक्रिया अघि बढ्नेछन् ।
सुदूरपश्चिम प्रदेशमा हुने यस निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा स्वतन्त्र उम्मेदवारहरूका मतदाता रहनेछन् । प्रदेशसभाका सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरू निर्वाचनमा सहभागी हुनेछन् । निर्वाचन आयोगले तोकेको मापदण्ड अनुसार सबै तयारी पूरा गरी समयमै निर्वाचन सम्पन्न गर्ने लक्ष्य रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
















