खाेज्नुहाेस

गोदावरीमा नमुना टोल सरसफाइ कार्यक्रम सुरु 

Image
navjiwan hospital
अत्तरिया – कैलालीको गोदावरीमा सञ्चालनमा आएको एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्रले नमुना टोल सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ । फोहोर मैला व्यवस्थापन केन्द्र सञ्चालन आए पनि घर घरमा वर्गीकरण गरेर फोहर सङ्कलन गर्न, गाउँघरमा सरसफाइ राख्नको लागि स्थानीयलाई सचेत गर्न नमुना टोल सरसफाइ कार्यक्रम सुरु गरिएको हो ।
मंगलबार गोदावरी नगरपालिका – ४ बास्कोटामा गोदावरी नगरपालिका, बास्कोेटा सामुदायिक वन, ज्याला देवी युवा क्लब, इकोल्याव परियोजना, नेपाल रेडक्रस सोसाइटी, वनदेवी चोरी सिकार नियन्त्रण परिचालन समूह, च्याम्पियन ग्रुप बास्कोटा सँगको सहकार्यमा टोल सरसफाइ कार्यक्रम सुरु गरिएको छ ।
क्षेत्रीय सहरी विकास आयोजना धनगढी, मातृभूमि संरक्षण प्रालि अत्तरिया र ग्रिन सुदूरपश्चिम परामर्श तथा स्वच्छ वातावरण प्रालि अत्तरियाको सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा सहभागीहरूलाई फोहोर सङ्कलन गर्ने विधि, सरसफाइका फाइदाका बारेमा जानकारी दिइएको थियो ।
गोदावरी नगरपालिकाको फोहोर मैला व्यवस्थापन समिति विज्ञ सदस्य केशव राज पन्तले फोहोर मैला सङ्कलनको कामलाई व्यवस्थित बनाउन कार्यक्रम सुरु गरिएको बताए । गोदावरीको वडा नम्बर ४ मा विगत एक वर्ष देखि नगरपालिकाको गाडी फोहोर सङ्कलन गर्न आउने गरेको बताउँदै उनले यसलाई व्यवस्थित रूपमा अगाडि बढाउनका लागि नमुना टोल सरसफाइ कार्यक्रम सञ्चालन गरिएको बताए ।
उनले स्थानीय जागरूक भएर मात्रै सरसफाइका कार्यक्रम प्रभावकारी हुन सक्ने बताए । उनले फोहोरलाई श्रोतमै वर्गीकरण गर्न सके व्यवस्थापनमा सहज हुने बताए । ‘फोहोरलाई घरमै जैविक, अजैविक, हानिकारक बस्तुहरूलाई छुट्टा छुटै राखेर नगरपालिकाको गाडीलाई दिनुपर्छ’ उनले भने ‘यसरी वर्गीकरण गरिएको फोहोरलाई फोहोर मैला व्यवस्थापन केन्द्रमा व्यवस्थापन गर्न पनि सहज हुन्छ ।’ उनले फोहोरलाई खोलामा फाल्ने, जलाउने काम गर्न नहुने बताए ।
एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले अत्याधुनिक पूर्वाधार सहित गोदावरी नगरपालिका – ३ मा एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएपछि सोही अनुसार स्थानीय स्तरमा पनि फोहोर सङ्कलन गरी नगरलाई स्वच्छ राख्नका लागि टोल सरसफाइ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
टोल सरसफाइ कार्यक्रम कार्यक्रममा बोल्दै पूर्व सांसद विजय कुँवरले टोल बस्ती सफा राख्न सबै सचेत हुन आवश्यक रहेको बताए । ‘टोलमा एक जनाले गरेको फोहोरले अरूलाई पनि असर परिरहेको हुन्छ’ कार्यक्रममा प्रमुख अतिथि समेत रहेका कुँवरले भने ‘जलाउन नहुने फोहोर प्लास्टिक जलाउँदा टोल मात्रै नभएर अरू ठाउँमा पनि असर पर्छ । त्यसैले यस्ता गतिविधि रोकेर सरसफाइ कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्छ ।’
कार्यक्रमको अध्यक्षता गरेको गोदावरी नगरपालिका – ४ का वडाध्यक्ष हेम प्रकाश मल्लले बानीको विकास नहुँदा सम्म सरसफाइ सम्भव नभएको बताए । उनले हिजो अस्ति शौचालय प्रयोग गर्न अप्ठ्यारो मान्ने मानिसहरू पनि बानीको विकास सँगै अहिले खुला ठाउँमा दिसा पिसाब गर्न अप्ठ्यारो मान्ने गरेको बताउँदै यस्तै फोहोर व्यवस्थापनमा पनि बानी पार्न आवश्यक रहेको बताए ।
‘हामीले अहिले देखि बानीको विकास गर्न सक्यौ भने केही वर्ष भित्रमा हाम्रो बानी पर्न थाल्छ’ उनले भने ‘फोहोर सङ्कलन गरेर नगरपालिकाको गाडीलाई दिने बानी परेपछि हामी नगरपालिकाको गाडी नआए पनि किन आएन भन्न थाल्छौ ।’ फोहोर व्यवस्थापनमा बेवास्ता गर्दै फोहोरलाई नदीमा फाल्ने, खोलामा फाल्ने गरिएको पाइएमा त्यस्ता व्यक्तिलाई वडाबाट दिइने सेवा सुविधामा रोक गरिने उनले बताए । उनले टोलमा अहिले महिलाहरू पनि सक्रिय भएर सरसफाइका कार्यक्रम गरिरहेको भन्दै सरसफाइमा जोडिएका महिलाहरूलाई वडा र नगरपालिकाबाट आवश्यक सहयोग गरिने बताए ।
बास्कोटा टोलमा सरसफाइका कार्यक्रम सञ्चालन गरिरहेको च्याम्पियन ग्रुपकी अध्यक्ष पुतली कुवरले घर, टोल छरछिमेकमा सरसफाइका कार्यक्रम सञ्चालन गरिरहेको बताइन । उनले यसअघि २ पटक टोलमा सरसफाइको कार्यक्रम गरिसकेको बताउँदै वडाले पनि स्थानीयलाई सचेत गर्न सहयोग गर्नुपर्ने बताइन । उनले आफ्नो टोललाई सरसफाइमा नमुना टोल बनाउनको लागि आफूहरू अग्रसर रहेको बताइन् ।
गोदावरी नगरपालिकाको फोहर मैला व्यवस्थापन शाखाका सुपरभाइजर प्रमल महराले साउन महिना देखि फोहोरलाई श्रोतमै छुट्याउने अभियान सञ्चालन गरिएको बताए । उनले यसका लागि प्रत्येक वडामा एउटा नमुना टोल, प्रत्येक विद्यालयमा सरसफाइ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताए । उनले गोदावरीमा सुदूरपश्चिमकै नमुनाका रूपमा फोहोर मैला व्यवस्थापनको काम अघि बढेको बताउँदै यसलाई प्रभावकारी बनाउन स्थानीय, समुदाय सँग सहकार्य गरेर कार्यक्रम गरिरहेको बताए ।
गोदावरीमा ७५ प्रतिशत एडिबीको ऋण अनुदान सहयोग र २५ प्रतिशत नेपाल सरकारको सहयोगमा चाइनाको सिचुवान प्रोभेन्सी जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्सले फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण गरेर सञ्चालन गरिरहेको छ । ३ वर्ष सम्म निर्माण कम्पनीले नै सञ्चालन गर्ने सम्झौता अनुसार हाल केन्द्रमा निर्माण कम्पनीले नै फोहोर सङ्कलन गरेर व्यवस्थापन गरिरहेको छ । ५ हेक्टर क्षेत्रफलमा फैलिएको फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणका लागि ५१ करोड ६९ लाख ७४ हजार ४९९ रुपियाँ खर्च गरिएको छ । परियोजनालाई ५० वर्षसम्म प्रयोग गर्न मिल्ने गरी डिजाइन गरिएको छ ।
attariya hospital