अत्तरिया – कैलालीको अत्तरियामा संघीय सरकार मातहतमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) धनगढी सार्न थालिएपछि पुनः विवाद सृजना भएको छ । सोमबार डीडीसीले अत्तरियामा रहेको कृषि उपज थोक बजार भित्र जडान गरेका उपकरण सार्न थालेपछि स्थानीयले विरोध गर्दै डीडीसीको कारखानामा तालाबन्दी गरिदिएका छन् ।

विगत एक वर्ष देखि चर्चामा रहेको यो विषयमा संघीय सरकार र स्थानीय सरकार आमने सामने हुँदै आएका छन् भने डीडीसी सार्न नहुने भन्दै स्थानीयले विरोध गर्दै आएका छन् ।
डीडीसीले आफूलाई उपयुक्त हुने भवन सहितको संरचना पाएपछि धनगढी सारिरहेको बताए पनि हाल डीडीसी रहको गोदावरी नगरपालिकाले भने यसै क्षेत्रमा जग्गा उपलब्ध गराउने भन्दै बाहिर पालिका बाहिर नजान आग्रह गर्दै आएको छ ।
नगरपालिकाका मेयर वीरेन्द्र भट्टले पछिल्लो साता मात्रै पनि डीडीसीमा जिएम सञ्जीव झा सँगको छलफलमा डीडीसीलाई गोदावरीमै जग्गा उपलब्ध गराउने प्रतिबद्धता दोह¥याएको बताएका छन् ।
उनले डीडीसीलाई जग्गा दिन स्थान देखाइसकेको बताउँदै उक्त जग्गामा भौतिक संरचना बनाउन भने अहिलेको अवस्थामा नगरपालिकाले नसक्ने बताए ।

‘पछिल्लो साता पनि डीडीसीका जिएम सञ्जीव झा सहितको टोली आउँदा पनि मैले हामी जग्गा दिन तयार छौ नसार्नुस् भनेको हो । तर, अहिले भवन दिन सक्ने अवस्था छैन भनेको हो । जेन जी आन्दोलन कारण र पर्याप्त बजेट नहुँदा हामीले भवन बनाउनका लागि संघीय सरकारको योजनालाई पालिकाको बजेट काटेर दिन सक्ने अवस्था छैन भनेको हो । जग्गा हामी दिन्छौ भनेको हो’ अत्तरिया अनलाइन सँग कुरा गर्दै उनले भने ‘बहाले हामीलाई उता जग्गा र भवन मिलिरहेको छ भन्ने कुरा गर्नुभएको थियो । वहाँहरूको जाने मनसाय नै पहिले देखि बनाएका हुन । अहिले कसैले राजनीतिक इस्यु बनाए पनि फरक पर्दैन ।’
उनले डीडीसी अत्तरियामै राख्न उपयुक्त हुने बताउँदै डीडीसीलाई दूध सङ्कलन गर्न पनि सहज हुने बताए । ‘संघिय सरकारको आयोजना भएकाले यसमा स्थानीय सरकार तगारो बन्न मिल्दैन यद्यपि लामो समय देखि गोदावरीमा सञ्चालनमा रहेको दुग्ध संस्थान बाहिर नजाओस् केही मान्छे भए पनि हाम्रो दाजुभाइ दिदीबहिनीहरूले रोजगार पाएको छ’ उनले भने ‘यो ठाउँ सुदूरपश्चिमको ट्रान्जिट पोइन्टमा रहेको ठाउँ पनि हो । डडेल्धुराको जोगबुडा क्षेत्रबाट पनि दूध डीडीसीमा आउने भएकाले यसै ठाउँमा सहज हुन्छ ।’
उनले यसअघि जेठ महिनामा पनि डीडीसीको जिएम सहितको टोली आउँदा सर्वदलीय छलफल गरेर जग्गा देखाएको र उक्त जग्गा डीडीसीको टोलीले मन पराएको बताए ।
‘बास्कोटामा रहेको जग्गा देखाएका थियौ । ४/५ बिगाहाको उक्त जग्गाको भेल्युसन नै ८०/९० करोड हुन्छ’ उनले भने ‘उतीबेला हामीले जग्गाको सम्झौता गरौँ । बजेटको समय पनि भएकाले हामी भवनको लागि पनि २५/३० लाख छुट्टाइदिन्छौ भनेका थियौ । हामीले डिजाइन स्टमेट पनि मागेका थियौ । त्यस विषयमा डीडीसीबाट कुनै प्रतिक्रिया आएन ।’
बजेट अघि डीडीसीको कुनै प्रतिक्रिया नआएका कारण बजेट विनियोजन गर्न नसकिएको नगरपालिकाको नगरपालिकाले बताउँदै आएको छ ।

















