अत्तरिया – कैलालीको अत्तरियामा जारी ‘सृजनशील गोदावरी सांस्कृतिक महोत्सवमा कृषिका स्टललाई विशेष ग्राहयता दिइएको छ । जसमा किसान र कृषि फर्महरूले उत्पादन गरेका सामग्री राखिएका छन् । महोत्सवको प्रवेशद्वारमै सुदर्शन कृषि तथा लघु उद्यम फर्मले स्थानीय अग्र्यानिक उत्पादन बेचिरहेको छ ।
स्टलमा फापरको पिठो, पहाडी गुड, दाल, चामल लगायतका सामान राखिएको छ । सञ्चालक टेक बहादुर कार्कीले अधिकांश पहाडमा उत्पादन महोत्सवमा राखिएको बताए । उनले कैलालीमा आयोजना हुने सबैजसो महोत्सवमा आफूले कृषिको स्टल राख्दै आएको बताए । उनको स्टलमा आफैले उत्पादन गरेका विभिन्न प्रकारका अचार पनि राखिएको छ । पहाडमा उत्पादन भएको चुक, घिउ, डडेल्धुराको किवी सम्मका सामाग्री उनले स्टलमा राखेका छन् । व्यापार ठिकठिकै भएको उनको भनाइ छ ।

स्टल नम्बर १२ मा मा सिता जोशीले पनि कृषिको स्टलमा कोदोको पिठो देखि सिस्नुको साग राखेकी छिन । दिपायल कोसेली घर सञ्चालन गरेकी उनले स्टलमा पहाडको घिउ, चुक, ओखर, टिमुर विभिन्न दालहरू राखेको बताइन् । ‘हाम्रो पसल दिपायलमा छ । हामीले स्टल धनगढी, अत्तरियाका महोत्सवमा राख्ने गरेका छौ’ उनले भनिन ‘महोत्सवमा कृषिको स्टलमा केही छुट गरिदिएको छ । व्यापार पनि राम्रै छ ।’

स्टल नम्बर १०२ मा तरकारी, फलफूल बिक्री गरिरहेकी गोमती भट्टराइले पनि व्यापार राम्रै भएको बताइन । भूमिराज तरकारी तथा फलफूल पसल सञ्चालन गरेकी उनले आफूले महोत्सव भित्रै सञ्चालन भएका होटलहरुमा तरकारी पुगाउने गरेकाले व्यापार रामै भएको बताइन ।
‘महोत्सव भित्र सञ्चालन भएका होटलहरुले पनि हाम्रो यहाँबाट तरकारी लगिरहेका छन्’ उनले भनिन ‘महोत्सव अवलोकन गर्न आउनेहरूले पनि हाम्रो पसलबाट तरकारी लगिरहेका छन् । व्यापार राम्रै भएको छ ।’
महोत्सवमा स्टल नम्बर १०१ मा मनीषा धामी अचार बेचिरहेकी छिन । उक्त स्टलमा मटन, चिकेन, माछाको अचार राखिएको छ । अत्तरियाको धनगढी रोडमा रहेको गिताज किचेनले उत्पादन गरेका अचार बेचिरहेकी मनीषा धामीले बजार राम्रै भएको बताइन । उनले पसलको प्रचार सँगै व्यापार गर्न महोत्सवमा स्टल राखेको बताइन ।
पुस ९ गते देखि सुरु भएको महोत्सवमा आयोजकले कृषि उपज बिक्री गर्ने स्टललाई अन्य स्टलको तुलनामा कम भाडा तोकेको छ । महोत्सव आयोजक सृजनशील युवा क्लबका सदस्य तथा स्टल व्यवस्थापन समितिका संयोजक विक्रम विष्टले कृषि स्टललाई ५ हजार मात्रै भाडा तोकिएको बताए । उनले स्थानीय उत्पादन गर्ने स्टलहरूलाई विशेष ग्राहयता दिइएको बताए ।
महोत्सवमा १८० स्टल राखिएका छन् । जसमा बढी जसो लुगा कपडा र होटलका स्टल रहेका छन् । यस्तै स्थानीय उत्पादन, थारु परिकारका स्टल राखिएका छन् । स्टलहरूमा व्यापार राम्रै भइरहेको स्टल सञ्चालकहरुको भनाइ रहेको छ । महोत्सव पुस १९ गते सम्म सञ्चालन हुने छ । महोत्सवमा सामान्य टिकट १ सय र विद्यार्थीलाई ५० रुपैयाँ शुक्ल तोकिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरूलाई भने महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


















