अत्तरिया– कैलालीको गोदावरी नगरपालिकाभित्र रहेका मोबाइल व्यवसायीहरुको छाता संगठन गोदावरी मोबाइल व्यवसायी संघको साधारण सभा सम्पन्न भएको छ । शनिबार एक औपचारीक कार्यक्रमका बिच संघको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संघका संस्थापक अध्यक्ष गंगा निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया रहेकी थिईन । २०८२ वैशाखमा दर्ता गरिएको उक्त संघले ६ महिनामै प्रथम वार्षिक साधारण सभा गर्नुपर्ने भएपनि प्राविधिक कारणले गर्दा केही ढिला हुन गएको संस्थाका कोषाध्यक्ष हंशराज तिवारीले जानकारी दिए । उनले असोजमा गर्ने भनिएको साधारण सभा जेन जी आन्दोलनका कारण केही ढिला गर्नुपरेको बताए ।

‘हामीले असोजमा साधारण सभा गर्ने भनेका थियौँ, तर जेन जी आन्दोलनका कारण त्यतिबेला गर्न सकिएन’ उनले भने । उनले गोदावरी नगरक्षेत्रमा रहेका मोबाईल व्यवसायीहरुको हकहितका लागि आवाज उठाउन र काम गर्नका लागि संघको स्थापना गरिएको बताए । ‘मोबाइल व्यवसायीहरूको हकहित संरक्षण, पेशागत मर्यादा कायम गर्ने तथा व्यवसायीहरूबीच आपसी सहकार्य र एकता मजबुत बनाउने उद्देश्यका साथ संघ स्थापना गरिएको’ उनले भने ‘त्यसबाहेक संघले विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको छ ।’ संघमा गोदावरी नगरक्षेत्रभित्र रहेका करिब ६० जना मोबाइल व्यवसायीहरु आबद्ध रहेको बताउदै उनले केही व्यवसायीहरु अझै आवद्ध भैरहेको बताए ।
कार्यक्रममा संघको वार्षिक प्रतिवेदन सचिव सोम प्रसाद सापकोटाले प्रस्तुत गरेका थिए । उनले संघले मोबाईल व्यवसायीहरुको हकहितमा काम गर्ने मात्रै नभई अपाङ्गता भएका बालबालिकाहरु अध्ययनरत सुप समावेशी आधारभुत विद्यालयमा गएर खाद्यान्न वितरण, गर्मी समयमा चिसो सर्वत पानी वितरण, व्यवसायी कानुन सम्बन्धी जानकारी मुलक कार्यक्रम, अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सव सञ्चालनमा सहयोग लगायतका सामाजिक क्रियाकलापहरु गरेको बताए । संघका सदस्य चन्द्र सिंह धामीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन संघका महासचिव रमेश कडेँलले गरेका थिए ।


















