धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वामी रामदेव र आचार्य बालकृष्णसँग धार्मिक पर्यटन विकासको सवालमा छलफल गरेका छन् । स्वास्थ्योपचारको सिलसिलामा भारतको दिल्ली गएको बेला दुवै जनासँग सुदूरपश्चिममा धार्मिक पर्यटन विकासको सवालमा मुख्यमन्त्रीले छलफल गरेका हुन । त्यस क्रममा मुख्यमन्त्री शाहले धार्मिक पर्यटन विकासका लागि सहयोग गर्न आग्रह गरेका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि मुख्यमन्त्री उपचारका लागि भारतको नयाँ दिल्ली गएका थिए। मुख्यमन्त्री शाह एक चरणको उपचार पश्चात स्वदेश फर्किएका छन । नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचार गराएर उनी बुधबार स्थलमार्ग भएर स्वदेश फर्किएका छन । दायाँ खुट्टाको हड्डी र नसासम्बन्धी समस्याबाट ग्रसित उनी एकसाता अगाडि उपचारको लागि दिल्ली गएका थिए ।

मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमका अनुसार शाहले यसअघि, धनगढीको सेती प्रादेशिक अस्पताल र काठमाडौंको वीर अस्पतालमा उपचार गराएका थिए ।
















