खाेज्नुहाेस

सृजनशिल महिला विकास सहकारीको साधारण सभा सम्पन्न

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ८ जमुनानगरमा रहेको सृजनशिल महिला विकास बहुउद्देश्यिय सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक औपचारीक कार्यक्रमका बिच संस्थाको २२औ वार्षिक साधारण सभा सम्पन्न भएको हो । संस्थाकी अध्यक्ष भावना खड्काको सभापतित्वमा आयोजित कार्यक्रमकी प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का रहेकी थिईन ।

महिला तथा बालबालिका कार्यालयको रणनिति अनुसार २०५२ सालमा महिलाहरुलाई पनि विकासका मुल प्रवाहमा ल्याउनुपर्छ भन्ने संकल्पका साथ सञ्चालनमा ल्याईएको सहकारी अहिले वृहत बनेर उदाउन थालेको छ । तत्कालिन समयमा ४५ जना महिलाहरु मिलेर ४ हजार ५०० शेयरपुँजी र प्रति सदस्य ५ रुपैया बचत संकलन गरी सानो कारोबार बाट सुरु भएको सहकारीमा अहिले करोडको कारोबार भैरहेको छ ।

attariya hospital

संस्थाले आर्थिक वर्ष २०८१÷०८२ को असार मसान्तसम्म ३२ करोड ९३ लाख ५३ हजार १२९ रुपैया बराबरको कारोबार गरेको छ । जसबाट संस्थाले ५२ लाख ९१ हजार ८९५ खुद नाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०८१÷०८२ को असार मसान्त सम्म संस्थामा ३ हजार ५९० शेयरसदस्य रहेका छन भने ३ करोड ४३ लाख ७८ हजार ७०० रुपैया शेयरपुँजी रहेको छ । संस्थाले सहकारी मापदण्ड अनुसार ५२ लाख ९६ हजार ५ रुपैया कर्जा जोखिम ब्यहोर्ने कोषमा व्यवस्था गरेको संस्थाकी अध्यक्ष भावना खड्काले बताईन । संस्थाको वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै उनले संस्थाको जगेडा कोषमा २ लाख ६ लाख १८ हजार ९०७ रुपैया रहेको तथा अन्य कोषहरुमा ५५ लाख ५४ हजार ३३ रुपैया रहेको जानकारी दिईन ।

त्यस्तै उनले संस्थाले संस्थामा आवद्ध सदस्य स्वयम् वा सदस्यका श्रीमानको निधनमा सामाजिक सुरक्षा वाफत केही राहत रकम उपलब्ध गराउदै आएको बताईन । जसमा संस्थाले आर्थिक वर्ष २०८१÷०८२ मा २५ जना सदस्यहरुलाई नगद आर्थिक सहयोग प्रदान गरेको उनको भनाई छ । संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले संस्थाले सुत्केरी पोषण स्वरुप पनि आर्थिक सहयोग दिने गरेको बताईन । उनका अनुसार संस्थाले सुत्केरी पोषण वाफत ९५ जनालाई नगद रु. २ हजार ५०० का दरले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

navjiwan hospital

विभिन्न विधामा पुरस्कार तथा सम्मान

यसैबिच संस्थाले वार्षिक साधारण सभाको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ मा संस्थाले विभिन्न विधामा रहेर पुरस्कार तथा सम्मान गरेको हो । जसमा उत्कृष्ट बचतकर्तातर्फ सुनिता चौधरी र कलावती चौधरी, उत्कृष्ट ऋणीतर्फ गोमती चौधरी र भागरती साउँद तथा छात्रछात्रा सहयोगमा रिया बि.क र यशोदा जोरा रहेका छन । त्यस्तै उत्कृष्ट टोल स्तरिय इकाई समितितर्फ शिखर महिला विकास टोल स्तरिय इकाई समिति सम्मानित भएको छ भने उत्कृष्ट टोल स्तरिय इकाई समिति अध्यक्ष तर्फ मिलन महिला विकास टोल स्तरिय इकाई समितिका अध्यक्ष निर्मला साउँद सम्मानित भएकी छन ।

त्यसबाहेक संस्थाले सदस्यता वृद्धि सम्मान कालिका टोल स्तरिय इकाई समितिका अध्यक्ष नन्दा साउँदले प्राप्त गरेकी छन भने देवी जेठाराले एकल महिला सम्मान प्राप्त गरेकी छन । त्यसैगरी विपन्न महिला सम्मान फुलमती देवी चौधरीले पाउँदा धर्मा खडायतले ज्येष्ठ सदस्य सम्मान प्राप्त गरेकी छन । साधारण सभामा संस्थाका पूर्व सञ्चालक तथा लेखा समिति सदस्यहरुलाई पनि सम्मानित गरिएको थियो ।

संस्थाको आफ्नै नयाँ भवनमा आयोजित कार्यक्रममा प्रदेश सांसद तुलसी देवकोटा, वडा नं. ८ का वडाध्यक्ष गोबिन्द चौधरी, वडा नं. ७ की वडाध्यक्ष कलावती साउँद, कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख घनश्याम चौधरी, जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणि सापकोटा लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक गौरी चौधरीले गरेकी थिईन ।