कञ्चनपुर – महेन्द्रनगरमा निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन बनेको छ । विसं २०७२ मा भीमदत्त नगरपालिकाले झन्डै एक करोड १० लाख रुपियाँको लागतमा महेन्द्रनगरस्थित सब्जीमन्डीमा निर्माण गरेको सो वधशाला व्यवसायमैत्री नहुँदा प्रयोगविहीन बनेको हो ।
वधशालामा कुखुरा र खसीका लागि छुट्टाछुट्टै दुई वटा ब्लक निर्माण गरिएको छ । मासु व्यवसायीले भने उक्त वधशालामा काम गर्न असहज भएको गुनासो गरेका छन् । सब्जीमन्डीमा खसीको व्यवसाय गर्दै आउनुभएका मासु व्यवसायी रामसिंह भण्डारीले वधशाला व्यवसायमैत्री नभएकाले प्रयोग गर्न असहज भएको बताए। सो वधशालामा तीन वर्षपहिले मासु कट्न सुरु गरिए पनि असहज हुँदा काम गर्न नसकिएको उनले बताए ।


व्यवसायीका लागि भवनभित्र कुखुरा, खसी काटेर मासु तयार भएपछि पसलमा लगी बेच्न सक्ने गरेर वधशाला निर्माण गरिएको थियो । कुखुरा र खसी पसले भने वधशालामा मासु तयार गरिए पनि पसलसम्म पु¥याउन ढुवानीको समेत व्यवस्था नगरिँदा समस्या भएको बताउँछन् ।
निर्माण भएको तीन वर्षपछि सो वधशाला सञ्चालनमा ल्याइएको थियो । वधशालामा पानी जम्ने, स्थान अभावलगायतका समस्या हुन थालेपछि प्रयोग गर्न छोडेको व्यवसायी बताउँछन् ।
महेन्द्रनगर बजारस्थित चार किल्लालाई मध्यनजर गर्दै निर्माण गरिएको सो वधशालामा अत्याधुनिक उपकरणसमेत जडान गरिएको छ ।
क्षेत्रीय पशु सेवा निर्देशनालय डोटीले ५० लाख र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, महेन्द्रनगरले २० लाख बराबरको उपकरण जडान गरेका थिए । हाल ती उपकरणमा समेत खिया लागेर काम नलाग्ने बनेको नगरपालिकाका सबइन्जिनियर पवन लेखकले बताए ।



















